सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा कमिसनका लागि गरिएको वार्ताको अडियो टेप सार्वजनिक भएपछि कांग्रेसले सञ्चार मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बास्कोटालाई बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।
“७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ,” शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको अनुमानित विवरण यस अघिनै सार्वजनिक भएको भन्दै उनले स्वयं सञ्चार मन्त्री बास्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् अनुमान बलियो ढंगले प्रमाणित भएको दाबीसमेत गरेका छन् ।
अडियोमा सुनिने दुई जनाको वार्तालाप स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा र सञ्चार मन्त्री बास्कोटाको भएको पनि समाचारमा दाबी गरिएको छ ।
यसैबीच सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ७० करोड कमिशन काण्डमा मुछिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार मध्यान्ह साढे १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । सञ्चार मन्त्री बास्कोटाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।