अज्ञात समूहद्वारा दुई स्काभेटरमा आगजनी

बिहिबार, ८ फाल्गुन २०७६

काठमाडौँ -डोटीको सायल र आदर्श गाउँपालिकामा दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
सायल गाउँपालिकाको वडा नं १ छपाली जाने बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा आगजनी गरिएको छ ।गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलका अनुसार राति करिब नौ बजेसम्म काम गरी मेसिन थन्काएर चालक र सहयोगी सुत्न गएका बेला आगो लगाइएको हो ।

घटनाको छानविन गर्न प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।यस्तै आदर्श गाउँपालिका वडा नं। ३ काँडी स्याउलेमा राखिएको आन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिप सिं देउवाले जानकारी दिए ।एकै समयमा दुई वटा ठाउँमा आगजनी भएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।