प्रेरक प्रसंग : खीर भयो बाङ्गो !

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौं– एउटा गाउँमा एकजना सुरदास (अन्धा मान्छे) थिए । गाउँलेहरु उसका अगाडि गएर खीरको एकदम प्रशंसा गर्थे । एक दिन ती सुरदासले सोधे– “भाइ हो । खीर भन्ने चीज कस्तो हुन्छ ?’’

ती मान्छेहरुले खीर सेतो सेतो हुन्छ भन्दिए । सुरदासले फेरि सोधे–‘‘सेतो सेतो भनेको कस्तो ?’’

“सेतो पनि कस्तो भन्ने, सेतो भनेको बकुल्लाजस्तो नि ! “ती मान्छेहरुले उतर दिए ।

सुरदासले फेरि पनि सोधे– “अनि बकुल्लाचाहिँ कस्तो हुन्छ त ?” ती गाउँलेहरुले बकुल्लाको गर्दनजस्तै बनाउन आपनो हात टेढो बनाए र ती सुरदासलाई छाम्न लगाए । “यी यस्तो हुन्छ बकुल्ला ।’’

“खै, कस्तो हुँदो रहेछ खीर ?” भन्दै सुरदासले त्यो हात छाम्यो । हात छाम्यो । हात छाम्दै भन्यो– “यो त कस्तो बाङगो हो ? कसरी खान यस्तो खीर ? यो त घाँटीमा अड्कीहाल्छ नि !”