स्कुलमा शिक्षक र विद्यार्थीको संख्या बराबरी
काठमाडौं– पाल्पाका अधिकांश सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा खाली हुँदै गएका छन् । विद्यार्थीको संख्या घट्दै गएपछि कतिपयमा एक/दुई विद्यार्थीलाई पढाउनु परेको छ । आधारभूत तहसम्मका स्कुलमा शिक्षक र विद्यार्थीको संख्या बराबरीजस्तै भएको छ ।
बाल कक्षादेखि कक्षा ७ सम्म विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ । शैक्षिक सत्रको सुरु महिनामा सरकारी स्कुलमा भर्नाका भएका अधिकांश विद्यार्थी कक्षामा उपस्थित हुँदैनन् । पाल्पाका १० वटै स्थानीय तहका ग्रामीण भेगका आधारभूत विद्यालयमा यस्तो समस्या छ । विद्यार्थी अत्यन्त न्यून भएपछि जिल्ला शिक्षा तथा समन्वय इकाइले प्राथमिक तहका ४ सय ४० शिक्षक दरबन्दी कटौती गरेको छ । आधारभूत तहसम्म सामुदायिकमा विद्यार्थी अत्यन्त न्यून भएकाले सरकारले प्राथमिक तहमा ४ सय ४० दरबन्दी कटौती गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी विष्णु बेल्वासेले बताए ।
बगनासकाली गाउँपालिका–५ दर्लामडाँडास्थित सरस्वती आधारभूत स्कुलमा २० जना विद्यार्थी छन् । शिक्षकको दरबन्दी ७ जनाको छ । एक शिक्षकलाई सरदर ३ विद्यार्थी पर्छ । कक्षा ५ मा जम्मा एक जना विद्यार्थी छन् । ‘घरघर गएर विद्यार्थी खोजेका छौं तर गाउँमा विद्यार्थी नै छैनन्,’ प्रधानाध्यापक यज्ञमूर्ति गैरेले भने, ‘भएकालाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौं ।’ सहरी क्षेत्रमा बसाइसराइ र रोजगारीले आभारभूत तहमा विद्यार्थी न्यून भएको उनले बताए ।
भर्ना अभियानमा विद्यालयको इज्जत जोगाउन एउटै विद्यार्थीलाई २/३ वटा विद्यालयमा भर्ना गरिएको छ । शिक्षक छन्, स्कुलका भौतिक संरचना राम्रा छन्, तर आधारभूत तहमा विद्यार्थी अत्यन्त थोरै छन् । सरकारले हिमाली क्षेत्रमा ३५ विद्यार्थी बराबर एक शिक्षक, पहाडी क्षेत्रमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराईमा ५५ विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरेको छ । पाल्पाका ग्रामीण क्षेत्रमा एक विद्यार्थी बराबर एक शिक्षकको अवस्था सिर्जना भएको छ । दर्लामडाँडा माविको आधारभूत तहमा पनि ५० भन्दा थोरै विद्यार्थी छन् । बालकक्षामा २ जना, कक्षा १ मा २ जना र कक्षा ३ मा ४ जना विद्यार्थी छन् ।
‘सरकारी मापदण्डअनुसार आधारभूत तहमा विद्यार्थी छैनन्, बसाइसराइ र बोर्डिङको आकर्षणले सरकारी विद्यालयमा विद्यार्थी घटेका छन्,’ दर्लामडाँडा माविका प्रधानाध्यापक थमनसिंह थापाले भने । पाल्पाका सबै स्थानीय तहका ९० प्रतिशत सरकारी स्कुलका आधारभूत तहमा शिक्षक बराबर विद्यार्थीको संख्या छ । शिक्षकमा जिम्मेवारीबोध कमी र व्यवस्थापन कमजोर हुँदा सरकारी स्कुलको आकर्षण घटेको शैक्षिक तालिम तथा जनशक्ति केन्द्रका प्रमुख प्रशिक्षक गोपालप्रसाद बस्यालले बताए । अविभावकको समेत सामुदायिक स्कुललाई राम्रो बनाउनु पर्छ भन्ने चेतना र ज्ञानको कमीले यस्तो अवस्था आएको उनको भनाइ छ ।
निजीमा विद्यार्थीको भीड छ । कक्षा ८ देखि निजीमा विद्यार्थी घट्ने र सामुदायिकमा अन्तरवार्ता नै लिएर भर्ना गर्नुपर्ने अवस्था छ । जिल्लामा नाम चलेका सामुदायिकमा समेत नर्सरीदेखि कक्षा ७ सम्म विद्यार्थीको संख्या न्यून छ । धनीमानी र सरकारी कर्मचारीले छात्रवृत्ति सुविधाका लागि भने नर्सरीदेखि कक्षा ७ सम्म निजीमा पढाए पनि कक्षा ८ देखि सामुदायिकमा भर्ना गराउने गरेका छन् । विद्यार्थी टिकाउनकै लागि लामो समयदेखि सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन थालिएको छ । सामुदायिकमा सरकारी नीति नियमविपरीत प्याब्सनको र सरकारी गरी दोहोरो पाठ्यक्रम पढाइरहेका छन् ।