कोरोना भाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरिया जाने चालीस नेपाली कामदारको उडान सर्‍यो

आइतबार, ११ फाल्गुन २०७६

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरिया जाने ४० जना नेपाली कामदारको उडान केही दिन सरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दोब्बरले बढेपछि त्यहाँ जाने नेपाली कामदारको उडान एक हप्ताका लागि सारिएको हो । दक्षिण कोरियाले नै कोरोनाको संक्रमण फैलिएकोभन्दै नेपाली कामदारको उडान रोकेको ईपीएस कोरिया शाखाका बाबुराम घिमिरेले जानकारी दिनुभयो।

रोकिएका नेपाली कामदारको उडानबारे अवस्था हेरेर मात्रै निर्णय लिने उहाँले बताउनुभयो । आइतबार सार्वजनिक बिदा भएकाले यो विषयमा दक्षिण कोरियासँग मंगलबार छलफल हुने घिमिरेले बताउनुभयो ।यस्तै कोरियामा रहेका नेपाली कामदार कोरोना भाइरसको संक्रमण प्रभावित क्षेत्रमा रहे नरहेकोबारे जानकारी लिने काम पनि भइरहेको उहाँले बताउनुभयो ।