बाबुरामले भने चप्पल लगाएर आएकाहरुको महल कसरी बन्यो ?

बुधबार, १४ फाल्गुन २०७६

काठमाडौँ -पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चप्पल लगाएर काठमाडौं आएर अहिले महलमा बस्‍ने र सुटेडबुटेड हुने आफूलगायतको सम्पत्ती छानबिन गर्न प्रस्ताव गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “म लगायत सबैको सम्पत्ति छानबिन गरौं । हिजो हामी त साथीहरूले दिएको एक जोडी लुगा, चप्पल लगाएर हिड्थ्यौं।

अहिले हामी कसरी सुटेडबुटेड भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।”उनले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने पनि बताए । ०५२ सालमा युद्ध सुरु गर्दा नै पूर्वप्रधानमन्त्री र प्रधानन्यायाधीशको सम्पत्ती छानविनको पक्षमा आफूहरु रहेको भन्दै उनले यस्तो बताएका हुन् । सरकारको दुई वर्ष जनताका लाग कागलाई बेल पाक्यो हर्ष न विष्मात भएको पनि बताए ।