अभिनेत्रीको खोजीमा ‘टुल्की’ फिल्मका निर्देशक
काठमाडौं– फिल्म युनिट अहिले अभिनेत्रीको खोजीमा रहेको छ । केही अगाडि फाइनल भएकी अभिनेत्री बेनिशा हमालले फिल्म छाडेपछि निर्माण युनिट नयाँ हिरोइनको खोजीमा तिर लागेको हो ।
फिल्म छायाँकनमा भएको ढिलाइका कारण बेनिशाले फिल्म छोडेको बताइएको छ । बहुपति प्रथामा बन्न लागेको यो फिल्म लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन् ।
निर्माण युनिटले अहिले अडिसन मार्फत् हिरोइन छान्न लागेको हो । हिरोइनका लागि इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाएर अडिसनमा सहभागी जनाउन सक्नेछन् ।
इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने र अडिसनमा सहभागी मध्य उत्कृष्टलाई फिल्मको हिरोइनमा लिने निर्देशक सुनारले बताए ।
अडिसन २० देखि २५ वर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्नेछन् । अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते हुनेछ । जुम्ला, मुगु र डोल्पामा छायांकन हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् ।
फिल्म ‘टुल्की’ खिच्नका लागि साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन् । उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए ।