प्रेरक प्रसंग : लाख गयो बेकार

बुधबार, २१ फाल्गुन २०७६

काठमाडौं–एकजना अति चतुर ब्राह्मणले एउटा सुगालाई संस्कृतको एउटा वाक्य, ‘अत्र कः सन्देहः (यसमा के शङ्का) कण्ठस्थ बनाइदिएछ । जब त्यो सुगाले यो वाक्य कण्ठ पा¥यो, ब्राह्मण उसलाई बेच्न हिँडेछ । एउटा साहुले सोधे–‘यो सुगाको मुल्य कति हो ?’

ब्राहमणले भने– ‘ एक लाख रुपैयाँ ।’
साहुले सोधे– ‘यसमा त्यस्तो के गुण छ र एक लाख लिनलाई ?’
ब्राहमणले भने– ‘यो सस्कृत बोल्छ । नपत्याए सोध्नुहोस् त !’
साहुले सोधे– ‘ए सुगा, तेरो मुल्य लाख रुपैयाँ हो ? तँ संस्कृत बोल्छस् र ?’

सुगाले भन्यो– ‘अत्र कः सन्देहः ।’ साहु त्यो सुगासँग एकदम प्रभावि भए र एकलाखमा किनेर लगे । घर लगेर उनले सुगालाई सोधे– ‘पानी खान्छस् ?’ सुगाले भन्यो–‘अत्र कः सन्देहः ।’
साहुले यसलाई अरु केही आउँछ कि आउँदैन परीक्षा लिनुप¥यो भन्ने सोचेर सोधे– ‘पट्टु भुस खान्छस् ?’ सुगाले भन्यो– ‘अत्र कः सन्देहः ।’ साहुले फेरि सोधे– ‘मर्छस् ?’ सुगाले भन्यो– ‘अत्र कः सन्देहः ।’

जुन पनि कुरामा ‘अत्र कः सन्देहः’ मात्र भनेको सुनेर साहुले थाहा पाए, यसलाई त ‘अत्र कः सन्देहः’ भन्दा अरु केही आउँदैन भनेर । साहुले दिक्क मान्दै भने– ‘मेरो लाख रुपैयाँ त बेकार गयो ।’सुगाले भन्यो– ‘अत्र कः सन्देहः ।’ यो सुनेर साहुलाई रिस पनि उठ्यो, पछुतो पनि लाग्यो ।