लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग ओलीले राखे आपत्ति
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकमा व्यापारिक मार्ग बनाउने सहमतिमा आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले उक्त सहमतिको बारेमा गम्भीर आपत्ति जनाएका हुन् ।
‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ ।
यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओली आजै चीनको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।
एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।
त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।