‘अन्तिम सम्भोग’
विदेशबाट फर्केर आएको जम्मा चार महिना मात्र भएको थियो । पेम्बाको मोवाइल एक अनजान नम्बरबाट टिनिनी बज्यो । पेम्बाले फोन उठाएर हेलो बोल्न नपाउँदै उताबाट ‘हेलो, पेम्बा के छ ?’ को प्रश्न सोधियो । पेम्बाले पहिला कसको स्वर हो भनेर पहिल्याउनै सकेन । ऊ विदेशमा आठ वर्ष बसेर आएको थियो । यसैले पनि उसको नेपालमा धेरैसँग सम्पर्क टुटिसकेको थियो । उस्ले नेपाल फर्केपछि दुईचार जनावाहेक अरुलाई आफ्नो मोबाइल नम्बर पनि दिएको थिएन ।
पेम्बाले सोध्यो, ‘को बोल्नु भएको ?’
‘म आरती, तिम्री पूर्व प्रेमिका ।’ उताबाट जवाफ आयो ।
‘किन फोन गरेकी ?’ आरती भन्नेवितिकै पेम्बाको स्वर कठोर भयो ।
‘तिम्रो रिस अझै गएको छैन है, आठ वर्षपछि पनि । तिमी लामा बनेर सँधैको लागि गुम्बामा जाँदैछौ रे, त्यसैले लामा बनेर जानुअघि एकपटक भेटन चाहान्छु ।’
‘म गुम्बामा जानुसँग तिम्रो भेटको के अर्थ रह्यो ? एक वर्ष पनि कुर्न सकेनौ है, सिउँदो भर्न कति हतारो ?’
‘पेम्बा, यो सिउँदो रहरले होइन, करले रंगियो । म तिमीसँग एकपटक भेट्न चाहान्छु । मेरो सारा पीडा तिमी छेउ पोखेर हल्का हुन् चाहान्छु । म निसासिरहेकी छु पेम्बा ।’ यति भन्दै आरती रुन थालिन् । पेम्बाले मन कठोर बनाएर फोन काट्यो ।
आरतीको रुवाइले पेम्बाको मनमा धेरै कुरा खेल्न थाल्यो । सोच्दासोच्दा पेम्बालाई आरतीको माया पनि लाग्यो । जे होस्, धोका दिए पनि जीवनको कुनै समयमा माया गरेकी प्रेमिका हुन् । मुटुको अनजान कुनामा फेरि माया टुसायो । जति कठोर बनाए पनि पेम्बाको छातीको देब्रे पाटो पग्लिन थाल्यो ।
अचेतन मनले जागृत भएको औलाले अघि आएको फोन कलमै टेकिन पुग्यो । डायल भएपछि आरतीले फोन उठाई । पेम्बाले सोध्यो, ‘भन, कहिले भेटने, कहाँ भेटने ? नरुनु अव ।
‘एक बाचा दिएमा मात्र रुँदिन । पहिला भन, पुरा गर्छु ।’
‘मनले स्वीकृति दियो भने पुरा गर्छु ।’
उताबाट जवाफ आयो, ‘नगरकोटको गुडनाइट होटेलमा, रातको नौ बजे ।’
रातको कुरा आउनेवितिकै पेम्बा आश्चर्यचकित भयो । पेम्बाले सोचेको पनि थिएन कि आरतीले आज आठ वर्षपछि आएर यस्तो प्रस्ताव गर्लिन् भनेर । किनभने आरती एक विवाहित नारी हुन् । उनले आफ्नै रहरमा विवाह गरेकी थिइन् । पेम्बाको मनमा नानाथँरिको शंका उपशंका आउन थाल्यो । विदेशमा रहँदा उस्को लागि रातको छुट्टै महत्व थियो, तर आज पेम्बालाई रातको खासै महत्व छैन ।
पेम्बाले आरतीलाई सम्झाउँदै बोल्यो, ‘तिमी पतिले सुसज्जित एक नारी हौ । तिम्रो पतिको लागि तिम्रो एक रात पनि धेरै महत्वपूर्ण छ ।’
‘मेरो पतिलाई लागि मैले हजारौ रात सुम्पेकी छु । अब मेरो पहिलो प्रेमको निम्ति, उस्ले एक रात त्याग्नुपर्छ । पेम्बा, तिमी बाचाले हारिसकेको छौ र तिमी जस्तो बुद्धत्वको खोजीमा हिँडेको मान्छे बाचाले हार्दैन पनि ।’ यति भन्दै आरतीले फोन काटिन् ।
पेम्बाको मन दोमन भयो । अव भने मनमा आँधिबेरी नै चल्न थाल्यो । जीवनको हरेक भौतिक सुख त्यागेर लामा बन्ने घोषणा गरेको पेम्बासामु त्यो अप्रत्याशित प्रस्तावले ठूलै हलचल ल्यायो । मनमा सन्त्रस्त खुल्दुलीले शीर उठायो, थाहाँ छैन एक स्त्रीको एकान्त रातले के माग्छ मसित ? ममा संभोगको इच्छा पटक्कै छैन अव । मैले सयौं बेश्यासँग रात बिताएर तृप्त भएको छु । दुईथोपा आँसुले दुईथोपा आँसु नै मागे, मिसाइदिउँला तर आँसुले मेरो भौतिक शरीर माग्यो भने ? पेम्बाले लामो खुइयय सुस्केरा हाल्यो । मनले ठहर गर्यो, जे होस, बाचाले हारेँ अव मैले बाचा निभाउनैपर्छ ।
बोलेको जस्तो आरती नगरकोटको गुडनाइट होटेलमा निर्धारित समयमै आफै कार हाँकेर आइन् । पेम्बा भने टयाक्सीमा पुगेको थियो । विदेशमा रहँदा धनाढय पुरुषसँग विवाह भएको भनेर पाएको खवर सत्य नै सावित भयो । शरीरको कुनै पनि अङ्गमा दरिद्रता झल्किरहेको थिएन । पेम्बालाई उनको शरीरमा झिलमिलाइरहेको गहना देखेर तत्क्षणै लाग्यो, यही शरीरमा टाँसिरहेको भौतिक सुखको लागि एक वर्ष कुर्न आरतीलाई गाह्रो भयो । सबै सुख पाएर पनि यो असन्तुष्टि किन ? यो रातको भिख किन ? पेम्वाको मनमा नाँनाभाँतिका कुरा खेल्न थाल्यो ।
आरतीले भनिन्, ‘आऊ माथि रुममा रेष्ट गरौँ । मैले रुम बुक गरिसकेकी छु । तिमीसित धेरै सुख दुखको कुरा गर्नु छ । आठ वर्षपछिको यो रात हामी दुबैका लागि विशेष हुनुपर्छ ।’ यति भन्दै पेम्बाको हात च्याप समातेर रुमतिर डोर्याइन् ।
रुममा पुगेर पेम्बाले आँखा चिम्म गर्यो । अनि विस्तारै आँखा खोल्दै सोध्यो, ‘तिमी पति भएकी एक पत्नी हौ । तिमीलाई रातको समयमा अपवित्र नजर दिनु पनि व्यभिचार हुन्छ । अव भन मोक्षतिर जानै लागेको पाइलालाई यता किन डोर्यायौ ? तिम्रो आँसुको बिश्रान्तिको लागि मात्र म यहाँ आएको । अव भेट भयो, आँसु थाम, सदाको लागि ।’
पेम्बाको कुराले आरती हिक्क हिक्क रोइन् । आरती रोएकीले कोमल हातले पेम्बाले आरतीको आँसु पुछिदियो । आँसु टिपेर आफ्नो घरमा फिर्ता हुनै लागेका औलाहरुलाई बाटैमा टिपी आरतीले पेम्बाका औंलाहरु चुम्न थालिन् र चुम्दाचुम्दै असु्रमिश्रित स्वरले बोली, ‘यी आँसु पुछेर सुक्नेवाला छैन । आँसुको जरा नै उखेल्नुपर्छ ।’
‘कहाँ छ त आँसुको जरा ? पेम्बाले क्लान्त स्वरले सोध्यो ।’
आरतीले पेम्बाको हात तानेर आफ्नो छातीमा टाँसेर बोलिन्, ‘यहीँ छ आँसुको जरा । मेरो स्तनमा छ । मातृत्व सुकेको यो छातीमा छ । मेरो यो छाती दुधको हर्षाश्रु बगाउन चाहान्छ । मेरो पतिबाट यो सम्भव छैन । मेरो गलाभरि तिमीले हिरा देख्यौ तर छातीभरिको पीडा देखेनौ । मैले यो सिउँदो रंगाएर हिरै हिरा पाएँ, तर एक थोपा पनि मातृत्व पाइनँ । लामा बन्नुअगाडिको पहिलो आशिष तिम्रो पूर्व प्रेमिकालाई दिएर जाऊ, पेम्बा । मलाई टेस्टटयुब बेबी होइन, मलाई त प्रेमले नै सृजना भएको शिशु चाहिन्छ । म चाहान्छु, मेरो शिशु मेरो पहिलो प्रेम जस्तै पवित्र र सुन्दर होस् । त्यो सुन्दर शिशु कि मेरो पतिसँग छ कि मेरो पहिलो प्रेमसँग । पतिले त सक्दैन । अव तिमी बाँकी रह्यौ ।
‘यति भन्दै आरती पेम्बाको छातीमा आएर झुलिन् । आरतीलाई त्यो क्षणमा पेम्बाको छातीमा एक स्त्री आवाज ध्वनित भयो– तिम्रो पति अरबपति हो । तिमीलाई धनको कुनै दुख हुनेछैन, तर सन्तान सुख भने तिमीले पाउने छैनौ । फेरि त्यही छातीबाट आफ्नै स्वर ध्वनित भयो —केही फरक पर्दैन । अहिलेको समय नै धन हो । धनले सवथोक किन्न पाइन्छ ।
आरतीले आफ्नो छातीमा अडेस लिएकीले पेम्बाको मोक्षमन एक बाँझी स्त्रीको आँसुहरु तप्किएर गिलो भयो । ऊ पहिलो प्रेमको शक्तिसामु कमजोर भयो । पहिलो प्रेमको कोमल आँसुको बाढीले ऊभित्रको कठोरतालाई बगाएर लग्यो । उसले स्त्रीको आँसुको शक्तिलाई नमन गर्यो । मनमा सारै करुणा जागृत भयो । पेम्बाले बुद्धत्वको खोजीमा भित्रैबाट त्यागिसकेको एक पुरुष फेरि उदाएर आयो । जुन पुरुषले विदेशमा धेरै बेश्यालाई चिथोरिसकेको थियो । आरतीको आँसु पेम्वाको काँधमा तप्किरहेको थियो । कामुकता बिना पनि उस्ले पहिलो प्रेमको नाङ्गो शरीरलाई होटेलको बिछ्यौनामा बिछ्यायो र बन्द आँखामा भगवानको प्रतिमालाई स्थापित गर्दै बोल्यो ‘माफ गर भगवान्, यो मेरो जीवनको अन्तिम संभोग हो ।’
भोलि बिहान भयो । आरती निदाइरहेकै थिइन् । आरतीको अनुहारमा सन्तुष्टिको गहिरो आभा थियो । पेम्वाले आरतीलाई उठाउन चाहेन् । कोठाको शान्तिलाई कायम गर्दै पेम्बा तनले पनि मनले पनि सुटुक्क बिदा भयो ।
एकाकार भएको महिना पछि पेम्बाले सोचेको जस्तो सारा भौतिक सुखलाई तिलाञ्जली दिएर गुम्वामा प्रवेश गर्यो, लामा बनेर । आरती पेम्बासँगको मीठो रातको सम्झना लिएर गृहस्थ जीवनमा प्रवेश गरिन् । त्यसपछि उनीहरुको जीवनका महिनौ महिनासम्म पनि सम्पर्क भएन् । पेम्बा आफ्नो दैनिकीमा ब्यस्त रहयो भने आरती आफ्नै दैनिकीमा अल्झिन् । मोक्षतिर जाँदै गरेका यात्रुले दिएको बरदानस्वरुप होला, आरती गर्भवती भइन् । आरतीले एक पुत्रीलाई जन्म दिइन् । आरतीको जीवनमा आएको नवबहारले उनको जीवन हराभरा भयो । आरतीको पति पनि यस नव बरदानबाट खुसी नै भयो । आरतीको जीवनमा आएको नवबहारलाई प्रश्न गर्नुको सट्टामा पति पनि समाजबाट आफ्नो नपुुसंकता मेटिएकोमा खुसी नै भयो । पतिले आरतीलाई कहिले पनि सोधेन, यो शिशु कस्को हो ? दुनियाँको नजरमा नपुसंकताको दाग मेटिएकोले आफ्नो काँधको आकास त्यही शिशुको लागि ओछ्याइदियो । सन्तान सुख पाए पछि अव आरतीलाई हीराले बिझाउन छोडयो । सुनहरु आफ्नो धर्म निभाउँदै फेरि पहेँलिए । आरती आफ्नो जीवनमा रमाउन थालिन् ।
सन्तान भएको पनि सात बर्ष भइसकेको थियो । एक दिन आरती आफ्नी पुत्रीसित बौद्धको गुम्बामा दर्शनको लागि गएकी थिइन् । उस्ले एक लामा हातमा ‘अक्षमाला’ चलाउँदै आइरहेको देखिन् । उनको नजरले धोका खाएन, त्यो लामा अरु कोही नभएर पेम्बा नै थियो । पेम्बा आरतीको नजिक आएर टक्क उभियो । आरतीको शरीरमा टल्किरहेको सबै घाम तत्क्षणै छायामा बदलियो । आरतीले पेम्बालाई मूकदर्शक भएर हेरिन् । उनका आँखाको एक अज्ञात कुनाबाट आँसुको थोपा चिप्लिएर पृथ्वीमा झरे ।
आरती बोलिन्, ‘तिमीले दिएको रंगले मेरो जिन्दगी रंगियो, पेम्बा । म तिम्रो यो गुण कहिले बिर्सने छैन । तिमीले दिएको आशिष त्यही हो ।’ आरतीले पर गुम्बामा खेल्दै गरेकी आफ्नी छोरीतिर इशारा गर्दै बोलिन् । ‘तिम्रो लागि एक रात भयो त्यो रात, तर मेरो लागि जिन्दगी भयो । मेरो पतिलाई पनि पुरुष बनाइदियो त्यो रातले ।’
‘मैले सबथोक बिर्सिसकेँ । मलाई मेरो विगत पूर्वजन्म जस्तो प्रतीत हुन्छ । म केवल यो विराट संसारमा अहिले शान्तिको खोजीमा छु ।’ पेम्बाले बुद्धको अग्लो प्रतिमातिर हेर्दै बोल्यो । आरतीकी छोरी नजिक आई । आरतीले छोरीलाई पेम्वातिर हातको औंलाले इंकित गर्दै बोलिन्, ‘उहाँ मेरो स्कुल र कलेजको साथी पेम्बा हुनुहुन्छ । नमस्ते गर नानु ।’
छोरीले नमस्ते गरी । आरती थप बोलिन्, ‘मैले यिनको नाम श्रदा राखेकी छु । तिमी पनि केही बोल, पेम्बा । आठ वर्षमा एकपटक संयोगले हुने भेट, हाम्रो जीवनमा फेरि अर्को आठ वर्षमा छ कि छैन ?’
आरतीले पेम्बाको आफ्नी छोरीलाई लिएर कुनै प्रतिक्रिया खोज्दै, गौर गरेर प्रेममय नजरले हेरिन् । पेम्बाले आरतीकी छोरीलाई नै अन्तिम दृश्य बनाउँदै, केही नबोली आँखा बन्द गर्यो, त्यसपछि पेम्बाले आँखा खोल्दै खोलेन् । मात्र पेम्बाको औलामा झुलेर ‘अक्षमाला’ले फन्को लगाइरहयो । आरतीलाई लाग्यो, पेम्बा ध्यानमग्न भयो । अव आरतीले त्यहाँ रहनुको औचित्य देखेन । आरतीले पेम्बाको बन्द आँखामै आफ्नो बाटो तताइन् । गुम्बाको ढोकैमा पुग्दा पेम्बाको जवाफ पाएजस्तो लाग्यो । वायु ध्वनित भयो, ‘तिमी मेरो पहिलो प्रेम हौ र अन्तिम पनि । तिमी मेरो पहिलो संभोग हौ र अन्तिम पनि ।’ उनले पेम्बालाई फर्केर प्रेमिल नजरले हेरिन् । ऊ आँखा चिम्लेर अझै पनि मौन नै थियो । अक्षमालाले भने औंलालाई चुम्दै चुम्दै घुमिरहेको थियो ।
उनले आफूलाई नियालिन् । आफ्नो गलामा सज्जित हीराको हार हेरिन्, औँलामा सज्जित हीराको औंठीमा नजर दिइन् । दायाँ हातले गलाको हिराको हार छामिन् । बाँया हातले आफ्नी छोरीको कपाल सुम्सुम्याइन् । कपाल सुम्सुम्याउँदै आफैसित प्रश्न गरिन्, मैले गरिव भनेर जीवनको बाटोमा अलपत्र पारेको पेम्बाको बरदान ठूलो कि आज मेरो अरबपति पतिले शरीरभरि ओछ्याइदिएको यो बरदान ? छोरीलाई छातीमा बेसरी च्याप्न थालिन् । छोरीको अँगालोमा उनको हीराको हार छोपिँदै थियो । उनी बौद्धको ब्यस्त फुटपाथमा सबै शरीरको किमती–किमती हार छोप्दै आमाको सृंगारमा सिँंगारिँदै थिइन् र मनमनै भनिन्, ‘यो संसारमा मातृत्व भन्दा ठूलो गहना अरु केही छैन ।