अरब सागरको वायु नेपाल आउने क्रम बढ्यो, फेरि भारी वर्षाको सम्भावना
काठमाडौं—अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरेसँगै नेपालमा ठूलो पानी पर्ने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास रहेकै बेलामा अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवाह भएपछि भारी बर्षाको सम्भावना बढेको हो ।
अघिल्लो बर्षपनि असोज पहिलो हप्ता आँरिघोप्टे बर्षा हुँदा नेपालमा ठूलो धनजनको क्षति भएको थियो ।
विभागका अनुसार देशभर बर्षा हुने भएपनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै बर्षा हुनेछ ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक—दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक—दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।