एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौँ – एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्न ३ करोडसम्मको घर कर्जा योजना सार्वजनिक गरेको हो ।
‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुनेछ । न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिने एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।
सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जानकारी दिए । घर खरिद तथा निर्माण गर्ने ग्राहकको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।