उम्मेदवार बन्न टिकट पाएका लेखजंग थापालाई झट्का

सोमबार, १६ भाद्र २०८२

काठमाडौं—घण्टी चुनाव चिन्हबाट उम्मेदवार बन्न टिकट पाएका लेखजंग थापालाई झट्का लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि आइतबार मात्रै टिकट पाएका थापाले दोश्रो विवाह गरेको खुलेपछि टिकट खोसिने खतरा बढेको छ ।

नेपालको कानुनले अवैध ठहर गरेको बहुविवाह गरेका व्यक्तिलाई टिकट दिएको भन्दै चर्को आलोचना भएपछि रास्वपाले एउटी श्रीमतिसँगको छोडपत्र भएको प्रमाण मागेको छ । छोडपत्रको प्रमाण पेस नगरे रास्वपाले उनको टिकट खोस्ने तयारी गरेको बताइएको छ ।

यसबारे सभापति रवि लामिछानेसँग कारागार पु्गेर शीर्ष नेताहरुले छलफलसमेत गरेका छन् ।

टिकट लिएलगत्तै लेखजंगले बहुविवाह गरेको तथ्य बाहिरिएको थियो । नेपालको कानुनले अवैध ठहर गरेको बहुविवाह गरेका व्यक्तिलाई टिकट दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।

अहिले पनि कानुनले अवैध मानेको दुवै श्रीमती साथमा राखेकोबारे प्रश्न उठेपछि रास्वपा सचिवालय सदस्य र केन्द्रीय सदस्यहरूले उनलाई एउटीसँगको छोडपत्रको प्रमाण पेस गर्न लगाएका हुन् ।

यदि छोडपत्रको पत्र पेस नगरे रास्वपाले उनको टिकट खोस्ने तयारी गरेको छ । यसबारे छलफल गर्न रास्वपा शीर्ष नेताहरू सोमबार सभापति रवि लामिछानेलाई भेटन् नख्खु कारागार पुगेको स्रोतको दाबी छ ।

सोमबार नै रास्वपाका केही नेतासँग थापाले आफूले एक जनासँग सम्बन्ध विच्छेद गरेको पत्र सुरक्षित रहेको बताएका थिए । तर उनले प्रमाणस्वरूप पत्र उपलब्ध नगराएको रास्वपा नेताहरू बताउँछन् ।

त्यसपछि केन्द्रीय कमिटीको ग्रुपमा महामन्त्री कविन्द्र बुर्लाकोटीले थापाले एक श्रीमतीसँग सम्बन्ध तोडेको पत्रको ब्यहोराको सूचना जानकारी गराए ।

‘आज डा. थापासँग हामी केही नेताले भेटेर कुरा गरेका थियौँ । उहाँले पत्र उपलब्ध गराउँछु भन्नुभएको छ । हामीले समय दिएका छौँ’, ती नेताले भने, ‘व्यक्तिगत विषयमा धेरै सोध्ने कुरा भएन । उहाँले पत्र उपलब्ध गराए एक्सनमा जाँदैनौ । तर पत्र नआए निर्णय गर्नुपर्ने हुन्छ । उहाँको विकल्प खोजिन्छ । मंगलबारसम्मको समय दिएका छौँ ।’

उता थापाले पत्र ल्याउने वचन पार्टीलाई दिएका छन् । ‘म कुनै रूपमा कमजोर छैन । सबै प्रक्रिया पूरा गरेर सम्बन्ध विच्छेद गरेको छु’, उनले रास्वपाका नेताहरूलाई फोनमा भनेका थिए ।

रास्वपा सचिवालय सदस्यका अनुसार थापाले बहुविवाह गरेको कुरा स्वीकारेका छन् । तर पहिलो सम्बन्ध विच्छेद गरेर मात्रै दोस्रो विवाह गरेको उनले बताएका थिए । पत्र नबुझाएको अवस्थामा थापाको विकल्पबारे रास्वपा नेताहरू छलफलमा छन् ।