राजावादी आन्दोलन तहस नहस पारेर अट्रेलिया उड्दै सुवेदी

सोमबार, १६ भाद्र २०८२

काठमाडौँ – राजावादी आन्दोलन तहस नहस पारेर नवराज सुवेदी अट्रेलिया उढ्ने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको संयोजक तोकेका सुवेदी राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई कार्यबहाक तोकेर अस्ट्रेलिया उड्ने भएका हुन् ।

छोरा, बुहारी र छोरीहरुलाई भेट्न उनी अस्ट्रेलिया उड्न लागेको श्रोतले जनाएको छ । यता राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन महामन्त्रीलाई कार्यबहाक तोकेकोमा रुष्ट बनेका छन् । उनले उक्त जनआन्दोलन समिति नै भंग भइसकेको बताउँदै नयाँ ढङ्गले आन्दोलन संचालन गर्ने बताएका छन् ।

महामन्त्री राणाका अनुसार सुवेदी पारिवारिक भ्रमणको लागि अष्ट्रेलिया जाँदैछन् । त्यहाँ उनका छोरा, बुहारी र छोरीहरु रहेको बताइन्छ । ‘परिवार उतै छ, एक डेढ महिनाको लागि जान लाग्नुभएको हो’, राणाले भने, ‘मलाई जिम्मेवारी दिनुभएको छ ।’

त्यसो त, पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भने उक्त जनआन्दोलन समिति नै भंग भइसकेको बताएका छन् । उनले जेठ अन्तिम साता भनेका थिए, ‘यो समिति भंग भइसक्यो, अब हामी नयाँ ढंगले अघि बढ्छौँ ।’

अध्यक्ष लिङ्देन र महामन्त्री राणा समूहबीच पछिल्लो समय आन्तरिक द्वन्द्व चलिरहँदा जनआन्दोलन समिति निष्क्रिय जस्तो देखिन्छ । तर पनि समिति जीवितै रहेको महामन्त्री राणाको दावी छ । उनले अघि भने, ‘समिति भंग भएको छैन, समिति नै नभएको भए संयोजकज्यूले किन मलाई पत्र लेखेर जिम्मेवारी दिनुहुन्थ्यो र ’’

गत वर्ष चैत ४ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ‘बक्सिस’मा सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति गठन गरिएको थियो । तर चैत १५ गतेको घटनापछि उक्त समिति पूर्णतः सुस्ताएको छ ।