भदौ २४ गते नेकाको एजुकेशन फेयर
काठमाडौँ – भदौ २४ गते नेशनल एजुकेशनल कन्सलटेन्सी एसोसिएसन (नेका) ले एजुकेशन फेयर गर्ने भएको छ । होटल एभरेष्ट, काठमाडौंमा हुने फेयरले नेपाली विद्यार्थीहरूलाई विश्वभरका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रममा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड, युरोपका विभिन्न देशहरू, भारत लगायतका मुलुकका शैक्षिक संस्थाको सहभागीता रहने नेकाका उपाध्यक्ष रमन कोइरालाले बताए । उनका अनुसार फेयरमा विश्वभरका चर्चित विश्वविद्यालयसँगै हवाई सेवा साझेदार मलेसियन एयरलाइन्स र बैंकिङ साझेदार ग्लोबल आईएमई बैंकको पनि स्टल रहने छ ।
नेका एजुकेशन फेयरमा २९ प्रतिष्ठित संस्थाहरू सहभागी हुनेछन् । जसले व्यक्तिगत परामर्श, कोर्स छनोट र भर्ना प्रक्रिया सम्बन्धी जानकारी प्रदान गर्नेछन्। प्रारम्भिक आगन्तुकका लागि निःशुल्क आईईएलटीएस तयारी सत्रको सुविधा पनि उपलब्ध हुनेछ । साथै, भिसा प्रक्रिया, प्रस्थानपूर्व अभिमुखीकरण र सम्पूर्ण आवेदन प्रक्रिया सहयोगसहित फेयर एक पूर्ण–सेवा कार्यक्रमको रूपमा प्रस्तुत गरिएको उपाध्यक्ष कोइरालाको भनाई छ।
सहभागीहरूका लागि विभिन्न बम्पर उपहार र अन्तर्राष्ट्रिय शिक्षा पेशेवरहरूसँग नेटवर्किङको अवसर पनि रहनेछ। साथै, नेकाका अनुभवी सल्लाहकार र करियर परामर्शदाताहरूले विद्यार्थीलाई दीर्घकालीन पेशागत लक्ष्यसँग मेल खाने शैक्षिक मार्गनिर्देशन दिन महत्त्वपूर्ण भूमिका खेल्छन्।
फेयर बिहान १० बजे देखि साँझ ५ बजेसम्म चल्ने छ ।