मन्त्री र सचिवको लडाईँमा प्रहरीको इन्ट्री

मंगलबार, १७ भाद्र २०८२

काठमाडौं – मन्त्री र सचिवको लडाईँमा प्रहरीले इन्ट्री मारेको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम र मन्त्रालयका सचिव शरणकुमार पाण्डेबीच स्वार्थको लडाईँ सतहमा आएपछि प्रहरी परिचालन गरिएको छ ।

सोमबार मन्त्री हाङगामले सचिव पाण्डे चढ्ने गाडीको चाबी खोसेका थिए । मन्त्री हाङ्गामले आफूले भनेका व्यक्तिलाई करारमा रान्न सचिवलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्रीको सचिवालयले उनको गाडी खोसिएको हो । उनले यसअघि ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए ।

मन्त्री र सचिवको द्वन्द्व बढेपछि मन्त्रालय आसपासमा थप प्रहरी परिचालन गरिएको हो । थप दुर्घटना नहोस् भनेर प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले जानकारी दिए ।

सोमबार मन्त्री खगेनसिंह हाङगामले मन्त्रालयका सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चाबी खोस्न लगाएका थिए । पाण्डेको साउन २६ गते संघीय कृषि मन्त्रालयमा सरुवा भएको थियो । उनको दुई दिन अगाडि मात्रै फेरि कोशी प्रदेशमै सरुवा भएको पत्र आएपछि मन्त्री आक्रोशित बनेका थिए ।

आफूले भनेको काम नगरेको भन्दै सचिवसँग मन्त्री रुष्ट भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । मन्त्री र सचिव दुवै जना सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेका थिए । मन्त्री हाङगाम मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन गएका थिए भने सचिव पाण्डे प्रमुख सचिवलाई भेट्न गएका थिए । सचिव प्रमुख सचिवलाई भेटेर निस्कँदा गाडी नदेखेपछि मन्त्रालयमा खबर गरेका थिए । मन्त्रीको सचिवालयले चाबी मागेर राखेको मन्त्रालयबाट सूचना पाएपछि सचिवले भने मोटरसाइकल मगाएर गएका थिए ।

मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । मन्त्रीले करारका ड्राइभर तथा कार्यालय सहयोगी हटाउन खोजेका थिए तर सचिवले अस्वीकार गरेपछि दुई उनीहरूबीच द्वन्द्व बढेको मन्त्रालयका कर्मचारी बताउँछन् ।