बेइजिङको सैन्य परेडले अमेरिका आतंकित, ट्रम्पले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमा बुधबार भएको सैन्य परेडलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेका छन्। दोस्रो विश्वयुद्ध अन्त्य भएको खुशीयालीमा चीनले बुधबार बिहान बेइजिङमा सैन्य परेडसहितको भव्य समारोह गरेको छ।
सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन पहिलोपटक एकै मञ्चमा देखिएका थिए। सँगै इरानी राष्ट्रपति मसउद पेजेश्कियन पनि थिए।
युक्रेनमा युद्ध अन्त्य गर्नका लागि ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई अगस्ट १५ मा आफ्नै भूमिमा बोलाएर छलफल गरेका थिए। तर अहिलेसम्म युद्धविराम हुन सकेको छैन। युद्धविरामका लागि वार्ताको टेबलमा बस्नका लागि ट्रम्पले दिएको दुई साताको अल्टिमेटम सकिनै लागेको छ।
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई सेना र हतियार प्रदान गर्दै आएको छ। उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध अगाडिदेखिनै राम्रो छैन।ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको थियो। इरानमा केही महिनाअघि इसराइलसँग मिलेर अमेरिकाले शक्तिशाली बम हमला गरेको थियो।
तिक्ततापूर्ण सम्बन्ध रहेका चारै देशका नेताहरू बेइजिङ परेडमा काँधमा काँध मिलाएर सहभागी भएपछि ट्रम्पले त्यसलाई अमेरिकाविरुद्धको षड्यन्त्र भनेको सिएनएनले जनाएको छ।
राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई दीर्घकालीन खुशीको दिन शुभकामना। कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो तर्फबाट अभिवादन पुर्याइदिनुहोस्,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्। चीनलाई स्वतन्त्र बनाउन अमेरिकाले ठूलो योगदान गरेको पनि ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।
‘ठूलो प्रश्न भनेको राष्ट्रपति सीले अमेरिकाले दिएको सहयोग र त्यागलाई स्मरण गर्छन् कि गर्दैनन् भन्ने हो, ‘ट्रम्पले भनेका छन्।’