जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस मागेको खुलासा
काठमाडौं—जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस मागेको खुलेको छ । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीका अनुसार जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेर दुख दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् । उनले प्रतिनिधिसभाका सांसदहरूलाई जुम्लाका स्याउ किनिदिन आग्रह गरेका छन् ।
जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो पनि छ, स्वादिलो छ, केमिकल हालेको छैन। माननीयज्यूहरूले किन्दिनुहोला, विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन नगरी नल्यादिनुहोला।’ शाहीले भने, ‘जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा १०० रुपियाँसम्म घुस मागिरहेको छ । स्याउको चेकजाँच नगरियोस्, सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु।’
उनले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गरे। उनले विदेशी स्याउलाई एक दुई महिना ल्याउन रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। विदेशी स्याउ रोकिदिँदा जुम्लाको स्याउले बजार पाउने उनको भनाई छ। उनले जुम्लाबाट आउने सडक ४ दिनदेखि बन्द रहेको भन्दै सहज यातायातको लागि भौतिक पूर्वाधारमन्त्रीसँग आग्रह गरे।
सांसद शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए। उनले आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको बताए ।