फेसबुक लगायतका समाजिक संजालले नेपाल सरकारको निर्देशन टेरेनन्
काठमाडौं—फेसबुक लगायतका समाजिक संजालले नेपाल सरकारको निर्देशन अटेरी गरेका छन् ।
९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, एक्स, युट्युबलगायत सबै सामाजिक सञ्जाल कम्पनीहरूलाई ७ दिनभित्र अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १२ भदौमा सूचना जारी गदै दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो । ७ दिनको समयभित्र दर्ता हुन नआएर अटेरी गरेपछि सरकारले फेसबुक लगायतका सामाजिक संजाललाई बन्द गर्न लागेको छ ।
सरकारले सामाजिक सञ्जालहरूलाई स्वदेशी कानुनअनुसार अनिवार्य सूचीकरणका लागि दिएको ७ दिनको समय सीमा सकिँदै छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै फेसबुक, एक्स, युट्युबलगायत सबै सामाजिक सञ्जाल कम्पनीहरूलाई ७ दिनभित्र अनिवार्य रूपमा सूचीकरण हुन भनेको थियो ।
तर, सरकारले जारी गरेको सूचनाको समय सीमा सकिँदै गर्दा पनि ठूला सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा आएका छैनन् । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिएअनुसार सरकारले गरेको पत्राचारको जवाफसमेत ती कम्पनीहरूले दिएका छैनन् ।
“अहिलेसम्म दर्ता प्रक्रियामा होइन, कुनै पनि कम्पनीले जवाफसमेत दिएका छैनन्”, ठाकुरले भनेका छन्, “सरकारको तर्फबाट जारी गरिएको सूचना र पत्राचारलाई ध्यान दिएको देखिएन ।”
सरकारले यसअघि पनि पटक–पटक दर्ता प्रक्रियामा आउन भनेको थियो । तर, पटक–पटकको निर्देशनलाई पनि कम्पनीहरूले बेवास्ता गरेका थिए ।
पछिल्लो पटक सर्वोच्च अदालतले नै ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका २०८०’अनुसार गर्न आदेश गरेको थियो । सोहीअनुसार सरकार मन्त्रिपरिषदबाटै निर्णय गरेर अगाडि बढेको हो ।