३७ जना नेपाली खुट्टामा नेल र हातमा हत्कडीसहित नेपाल आउने

बुधबार, १८ भाद्र २०८२

काठमाडौं—दलाललाई करोड बुझाएर अमेरिका पुगेका ३७ जना नेपाली खुट्टामा नेल र हातमा हत्कडीसहित नेपाल आउने भएका छन् ।

उनीहरुलाई अमेरिकी चार्टर्ड विमानमार्फत भदौ १९ गते दिउसो काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई अमेरिकाको अध्यागमन कानुन अनुसार खुट्टामा नेल र हातमा हत्कडी लगाएर ल्याउने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि झण्डै दुई सय जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार डिपोर्ट भएकाहरुलाई आज नेपाल अवतरण गराउने सेड्युल थियो ।

तर, भोलि मात्र ल्याउने जानकारी प्राप्त भएको न्यौपानेले जनाए ।

अमेरिकामा एक हजारको संख्यामा नेपालीहरु गैरकानुनी तवरले बसिरहेको जनाइएको छ ।