‘हाम्रो पात्रो’ को प्रतिबन्ध फुकुवा गर्ने तयारी
काठमाडौँ —सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रोमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सामाजिक सञ्जाल सूचीकरणको प्रक्रिया पूरा गरेपछि मन्त्रालयले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जाल सूचीकरण नगरेको भन्दै हाम्रो पात्रोसहित २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिबन्धपछि हाम्रो पात्रोका प्रतिनिधिहरूले सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गरी आवश्यक कागजात बुझाएका थिए । सुरुमा कागजात पर्याप्त नभएको भन्दै मन्त्रालयले थप विवरण माग गरेको थियो । सबै आवश्यक कागजात पाएपछि मन्त्रालय प्रतिबन्ध फुकुवाको तयारीमा जुटेको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार हाम्रो पात्रोले सूचीकरणका लागि आवश्यक सबै कागजात मन्त्रालयमा बुझाइसकेको छ ।
मन्त्रालयले सूचीकरण प्रक्रिया पूरा गर्ने सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध यथाशीघ्र फुकुवा गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने जनाएको छ । सोहीबमोजिम, हाम्रो पात्रोमाथिको प्रतिबन्ध फुकुवाका लागि पनि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्न लागेको बुझिएको छ ।