सर्वोच्च अदालतमा रहेका ६० हजारभन्दा बढी मुद्दाका फाइल जलेर नष्ट

बुधबार, २५ भाद्र २०८२

काठमाडौँ – प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा रहेका ६० हजारभन्दा बढी मुद्दाका फाइल नष्ट गरिदिएका छन्। यसले सर्वोच्चको मुद्दा सुनुवाइ नै प्रभावित भएको छ। सर्वोच्च अदालतले अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरेको छ।

मुख्य रजिस्ट्रार विमल पौडेलले सूचना जारी गर्दै बुधबार र बिहीबारदेखि पेसीमा रहेका मुद्दाको सुनुवाइ स्थगित गरेको जानकारी दिएका छन्। अर्को सूचना जारी नभएसम्मका लागि सुनुवाइ स्थगित भएको उनले बताए। पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन्।

अहिले सर्वोच्चका कर्मचारी आगोमा जलेका सामान व्यवस्थापनमा जुटेका छन्। कतिपय नजलेका फाइल जोगाउन र अन्य सामान जोगाउन सर्वोच्च अदालतले त्रिपाल माग गरेको छ।

अत्यन्त महत्त्वपूर्ण सामानहरू जोगाउन भए पनि कर्मचारीहरू खटिनुभएको छ। सामान राख्न त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्नुपर्‍यो,सूचना अधिकारी निराजन पाण्डेले भने।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार मुद्दाका फाइल जलेर नष्ट भएको जानकारी दिए। उनका अनुसार अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले एनेक्स भवन भए पनि जोगाउन अपिल गरेका छन्।