कैदी भागेको भन्दै रवि लामिछानेका पोस्टरहरु छ्यापछ्याप्ती
काठमाडौं—कैदी भागेको भन्दै रवि लामिछानेका पोस्टरहरु छ्यापछ्याप्ती देखिन थालेका छन् । मंगलबारको विध्वंसात्मक प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेको भन्दै रविलाई पुनः पक्राउ गर्न माग गरिएको छ ।
‘हामी नेपाल’ नाम जेनजी युवाहरुको समूहले काठमाडौँको चोकचोकमा लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै उनलाई पक्रेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसेको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ भनिएको छ ।
मंगलबारको विध्वंसात्मक प्रदर्शनको क्रममा नख्खु कारागारबाट फुत्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग भएको छ ।
जेनजी आन्दोलनमा घुसपैठ गरी रास्वपाका कार्यकर्ताले लामिछानेलाई कारागारबाट निकालेका थिए । त्यसयता घरमै रहेका उनलाई भेटाउने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सूचनामा अनुरोध गरिएको छ ।
लामिछाने नख्खु कारागारबाट निस्किएपछि देशभरका कारागारबाट झण्डै १५ हजार कैदी भागेका थिए । यद्यपि, हालसम्म १३ सयभन्दा बढी कैदी पुनः पक्राउ परिसकेका छन् । प्रहरीले भागेका कैदीहरुलाई तत्काल कारागार फर्किनका लागि सूचना जारी गरेको अवस्था छ ।