जेनजी प्रदर्शनका नाममा विदेशमा धमाधम पैसा उठाइँदै
काठमाडौँ – यही भदौ २३ र २४ को जेनजीहरूको प्रदर्शनपछि ‘गोफन्डमी’ प्लेटफर्ममार्फत चन्दा उठाउने क्रम बढेको छ।
भ्रष्टाचार, अनियमिततालगायतका विकृतिविरुद्ध शान्तिपूर्ण प्रदर्शन हुँदा घुसपैठ र सरकारी दमनपछि व्यापक जनधनको क्षति भएसँगै नेपाली मात्रै नभई विदेशीहरूले समेत नेपालका तोडफोड र आगजनीका तस्बिरहरु राखेर रकम उठाउने क्रम बढेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रदर्शनमा मृत्यु हुने संख्या ७२ पुगिसकेको छ। अझै सयौँ घाइतेको उपचार जारी छ। कयौँ भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ।
घाइतेहरूको उपचारदेखि निजी घर बनाउने भनेर समेत गोफन्डबाट रकम उठाउँदै गरेको देखिन्छ। चन्दा माग्नेहरुले चिकित्सा सेवा र आपूर्ति पुर्याउन, मृतकका परिवारलाई आर्थिक सहयोग गर्न र भ्रष्टाचारविरुद्ध लड्न रकम आवश्यक परेको भनेर लेखेका छन्। आइतबार साँझसम्मको विवरणअनुसार प्लेटफर्ममा १०० भन्दा धेरैले बेग्लाबेग्लै कोष खडा गरेका छन्।
आभास बमजन र मञ्जिल लामिछानेका नामबाट खोलिएको कोषमा ३ लाख ३८ हजार १३१ अस्ट्रेलियन डलर अर्थात् ३ करोड १७ लाख रुपैयाँ जम्मा भइसकेको छ। उनीहरुले ४ लाख ६० हजार अस्ट्रेलियन डलर अर्थात् ४ करोड ३१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेका छन्।
आभासले रकम माग गर्दै गोफन्डमीको सन्देशमा लेखेका छन्, ‘जेन्जी आन्दोलनमा दुर्घटनामा पर्नेको संख्या द्रुत गतिमा बढ्दै गइरहेकोले सार्वजनिक अस्पताल र आपत्कालीन सेवाहरू धेरै चाहिएको छ। हामीले तुरुन्तै कुनै प्रकारको मद्दत–बचत चिकित्सा सहायता, आपूर्ति र समर्थन आदि प्रदान गर्न आर्थिक सहयोग जुटाऔँ, हरेक योगदानले फरक फरक परिणाम दिन सक्छ।’
अस्ट्रेलियामा बस्ने हिरोसी खनालले खोलेको अर्को कोषमा मात्रै आइतबार राति ११ बजेसम्म १ लाख ६५ हजार ६६५ अस्ट्रेलियन डलर उठाइसकेका छन्। उनले २ लाख १० हजार अस्ट्रेलियन डलर उठाउने लक्ष्य राखेका छन्।
नेपालीमा हिसाब गर्दा उनले एक करोड ५५ लाखभन्दा बढी उठाइसकेका छन्। उनले करिब २ करोड उठाउने भएका छन्। उनले यो रकमको ५० प्रतिशत जेनजी आन्दोलनका क्रममा मृतकका परिवारलाई दिने भनेका छन्।‘उनीहरूलाई अकल्पनीय भावनात्मक पीडा मात्र नभई हाल आर्थिक सहयोगको पनि उत्तिकै आवश्यक छ। त्यसैले आर्थिक सहयोग गरौँ,’ उनले भनेकी छन्। हिरोसीको कोषमा हालसम्म १ लाख ६४ हजार २१ अस्ट्रेलियन डलर संकलन भइसकेको छ। उक्त रकम १९९ जनाले दिएको देखिन्छ।
अमेरिकामा रहेको युनाइटेड नेप्लिज एसोसिएसनले ३० लाख २८ हजार रुपैयाँ उठाइसकेको छ। उसले १ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ अभियान चलाइरहेको छ। यस संस्थाले आफ्नो कुलमान घिसिङदेखि ज्ञानेन्द्र शाहीसम्मका तस्बिर वेबसाइटमा राखेको छ।