भिरबाट जिप खस्दा एकै परिवारका ३ सहित ४ जनाले गुमाए ज्यान
काठमाडौं – भारतको हिमाञ्चल प्रदेशमा भएको जिप दुर्घटनामा चार नेपालीले ज्यान गुमाएका छन् ।
सोमबार सिमला जिल्लामा पिकअप जिपले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो । मृतक तीन जना एकै परिवारका हुन् ।
भारतीय प्रहरीका अनुसार मृतकका परिवारलाई खबर गरिएको छ । साथै शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । सो दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरु उपचारपछि डिस्चार्ज भएका भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ ।
हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले शोक वक्तव्य जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।