दशैंमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं— दशैंमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, सुरक्षा निकाय, यातायात मजदूर ट्रेड युनियनसहित बसेको संयुक्त बैठकले असोज १ गते बुधबारदेखि अग्रिम टिकट बुकिङ सुविधा खोल्ने सहमति गरेको छ ।
तर यो सुविधा ३–३ दिनको लागि मात्र हुने विभागले जनाएको छ । ३ दिन बुकिङ गरेर यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुगेपछि फेरी अर्को ३ दिनको लागि अग्रिम टिकट बुकिङ खुल्ले व्यवसायीको भनाई छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाका अनुसार अहिले देशभर निरन्तर रुपमा पानी परिरहेको छ । बाढी पहिरोका कारण अधिकाँश सडक र पुलहरु भत्केका छन् । पानी परेका कारण प्राकृतिक प्रकोपको जोखिम पनि अत्यधिक बढेको छ ।
हिमाली र पहाडी बाटोमा निरन्तर रुपमा पहिरो जाने क्रम रोकिएको अवस्था छैन । काठमाडौंबाट बाहिरिने सबै सडक खण्डहरु अहिले क्षतिग्रस्त र भत्केको अवस्थामा छन् । अर्कोतर्फ जेनजी आन्दोलनको क्रममा अधिकांश प्रहरी चौकीहरु तोडफोड र आगजनी समेत भएका छन् ।
अहिलेकै अवस्थामा लामो समयको लागि अग्रिम टिकट बुकिङ सुविधा खोल्न सक्ने अवस्था नरहेकाले अवस्था हेरेर तत्कालको लागि ३–३ दिनको लागि अग्रिम टिकट बुकिङ सुविधा खोल्न लागिएको हो । अवस्था सुधार हुँदै गएपछि यो अवधी बढाउन सकिने सिंटौलाले जानकारी दिए ।
‘जस्तै सुरुमा ३ दिनको लागि मात्रै अग्रिम टिकट बुकिङ टिकट सुविधा खोल्छौं, त्यो ३ दिनको लागि बुकिङ गरेर यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुगेपछि फेरी अर्को ३ दिनको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने हो,’ सिटौंलाले भने,‘अवस्था सुधार हुँदै गएपछि यो अवधीलाई एक सातासम्म बढाउन सकिन्छ । सडकको अवस्थाका कारण अहिले नै टाढाका यात्रुहरुलाई गन्तव्यसम्म पुग्न ३ दिन लाग्न थालेको छ ।’
यातायात व्यवसायीहरुका अनुसार सडकको अवस्था दयनिय रहेको र पानीसमेत निरन्तर रुपमा परिरहेकाले यात्राको क्रममा कुनै भवितव्य घटना अवस्थामा अहिलेको असहज परिस्थितिमा उद्दार र खोजतलाश गर्नसमेत निक्कै कठिनाई भएकाले थोरै थोरै दिनको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको हो ।
उनका अनुसार कारागारबाट हजारौं कैदीबन्दी फरार भएकाले पनि यातायात सवारी सञ्चालन गर्न निक्कै कठिनाइ भएको छ । यसका लागि सुरक्षाकर्मीले यात्रु चढिसकेपछि सवारी साधनको जाँच गरिदिनुपर्ने उनले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म करिब ५ लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । अहिलेको असहज परिस्थितिमा यात्रुहरुबाट बढी भाडादर असुल्न अवस्था पनि सिर्जना भएकाले सरकारले तोकिएको भाडादर मात्रै उपलब्ध गराएर यात्रुलाई आग्रह गर्दै उनले बढी भाडा असुल्ने यातायात व्यवसायीको बिषयमा सुरक्षा निकायलाई जानकारी दिन आग्रहसमेत गरेका छन् ।
यात्रुहरुलाई ठग्न नदिन भोलीदेखि कोटेश्वर, कलंकी, सुन्धारा, गौशाला, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा तोकिएको भाडादरसहित डेल्प डेस्क खडा गर्न लागिएको उनले जानकारी दिए । उनले परिचयपत्रसहितको यातायात व्यवसायी र कर्मचारीबाट टिकट काट्न अपिल गरेका छन् ।