तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले सुरक्षा निकायका प्रमुखलाई धम्की दिएपछि
काठमाडौं—तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले सुरक्षा निकायका प्रमुखलाई धम्की दिएपछि सुरक्षा चेन भत्किएको पाइएको छ ।
सुरक्षा प्रमुखहरूले वातावरण बिग्रिसकेकाले राजीनामा दिन सुझाव दिएपछि ओलीले तपार्ईंहरूले आफ्नोबारे सोच्नुहोला भन्दै बर्खास्त गर्ने धम्की दिएका थिए ।
२३ गते बेलुका सुरक्षा निकायले हात उठाएपछि ओलीले एमालेका भ्रातृ संगठनहरूलाई २४ गते सडकमा उतार्न निर्देशन दिएका थिए । युवा संघ, अखिल लगायतले सडकमा आउन अस्वीकार गरेपछि ओली सत्ता च्युत भएभने देश खण्डहरमा परिणत भयो ।
जेनजीहरूको आन्दोलन सोचेभन्दा उत्कर्षमा थियो । सुरक्षा निकाय, बालुवाटार कसैले यो स्तरको सहभागिता होला भन्ने सोचेका थिएनन् । २३ गते बेलुकासम्म १९ जना युवाको मृत्यु भइसकेको थियो ।
सत्ता जान सक्ने भयमा थिए, प्रधानमन्त्री केपी शर्मा ओली । यसर्थ एमालेका भ्रातृ संगठनहरूलाई २४ गते सडकमा उतार्ने तयारीस्वरुप २३ गते रातभर बालुवाटारमा छलफल चलाए ।
युवा संघ र खेलकुद महासंघलाई बालुवाटार आउन फोनमार्फत खबर गयो । युवासंघका एक पदाधिकारीका अनुसार, राति ९ बजे उनीहरू बालुवाटार पुगेका थिए । त्यतिबेला मन्त्रिपरिषदको बैठक चलिरहेको थियो । बैठक सकिनासाथ कांग्रेस सभापति शेरबहादुर देउवा छिरेर ओलीसँग छलफल गरे ।
देउवा बालुवाटारमा रहेकै बेला चार सुरक्षा प्रमुख ओलीसँग छलफलमा जुटेका थिए । जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राजीनामा दिएका गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल र मुख्य सल्लाहकार विष्णु रिमाल थिए ।
सुरक्षा प्रमुखहरूले वातावरण बिग्रिसकेकाले राजीनामा दिन उपयुक्त हुने सुझाव दिए ।
तर, ओली प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि खनिए । भने, ‘आइजिपीको म्याद नसकिँदै तपार्ईलाई जिम्मेवारी दिएको होइन ? किन सम्हाल्न सक्नुभएन ?’ ओली झन् आक्रामक रूपमा प्रस्तुत भए । स्रोतले भन्यो, ‘जेनजीका नाममा जो जो घुसपैठ गर्न आए, आन्दोलन भड्काए यिनीहरूका बारेमा किन आकलन गर्न सक्नुभएन, कि तपाईंहरू पनि बिक्नुभयो ? सरकारले गति लिन्छ, तपार्ईंहरूले आफ्नोबारे सोच्नुहोला ।’
सुरक्षा प्रमुखहरूलाई निलम्बन गर्न सक्नेसम्मको आशय त्यहाँ व्यक्त भएको स्रोतले बताएको छ । ती सबै निस्किएपछि ओलीले मध्यरातमा युवासंघ र खेलकुदको टिमसँग भेटेका थिए ।
सो भेटमा ओली र खेलकुदका टिमबाहेक विष्णु रिमाल रहेको युवासंघका एक पदाधिकारीले बताए । उनका अनुसार २४ गते बिहान युवासंघको नेतृत्वमा एमाले भ्रातृसंगठनले देशभर प्रदर्शन गर्नुपर्यो भन्ने ओलीको निर्देशन थियो । ‘पहिला वाइसिएलसँग भिडेको युवासंघ अहिले छैन,’ युवासंघका एक पदाधिकारीले यत्ति के बोलेका थिए, ओली जंगिए, ‘संकटका बेला काम नलाग्ने के संगठन ? भोलि जसरी पनि जुलुस निकाल्नु, अरु आउनुभन्दा पहिला सडक कब्जा गर्नुस् ।’
ओलीका कुरा नसकिँदै विष्णु रिमालले मजदुर संगठन पनि सडकमा आउने बताए । तर, छलफल निश्कर्षमा पुग्न सकेन । ओलीले जसरी पनि भनेर एक खालको धम्की दिएका थिए ।
बाहिर निस्केर युवा संघको टिमले एकछिन के गर्ने भनी छलफल गर्यो र यस्तो बेला संयमित रहने निश्कर्ष निकाली आ–आफ्ना घरतिर लाग्यो । २४ गते बिहान नेताहरूले युवासंघका पदाधिकारीलाई सम्पर्क गरेका थिए कसरी जाने भनेर तर आफूहरूले संयमता अपनाएका कारण ठूलो दुर्घटना टरेको तिनै पदाधिकारीले बताए ।