सिके राउतको जनमत पार्टी विघटनको संघारमा
काठमाडौँ – रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो शक्ति बन्दा रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्तिले पश्चिम तराईमा राम्रो प्रभाव जमायो भने सिके राउत नेतृत्वको जनमतले मधेशमा जमाएको थियो ।
राजनीतिक विश्लेषकहरुले आकलन गरेका थिए, नागरिक उन्मुक्ति र जनमत क्षेत्रीय पार्टीका रुपमा उदाएका छन्, यीनले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउनेछन्। आगामी २१ फागुनमा प्रतिनिधिसभाको मध्यावधि चुनाव तय भएको छ।
तर, यो अवस्थामा रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठको बेमेलका कारण पार्टी नै फुटिसकेको छ । रेशमले नयाँ दलको घोषणा गरिसकेका छन्। जसकारण अब पश्चिम तराईमा नागरिक उन्मुक्तिको प्रभाव नगन्य हुने निश्चित प्राय छ।
यही अवस्थामा सिके राउत नेतृत्वको जनमत पनि संकटमा परेको छ। जेनजी आन्दोलनका बेला मधेशका मुख्यमन्त्री सतिषकुमार सिंहले राजीनामा घोषणा गरेका थिए, उनले राजीनामा फिर्ता लिएपछि दलभित्रै असन्तुष्टि छ। राजीनामा मागिँदैथ्यो। जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिंह यादवलगायत ६ जना नेताले राउतलाई पदबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएका हुन्।
राउतलाई पत्र पठाएर नेतृत्व परिवर्तनको माग गरेका छन्। ‘पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनस्र्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू पार्टीको जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ पत्रमा भनिर्एको छ।
पत्रमा देशमा व्याप्त भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र सुशासनविरुद्ध भदौ २३ र २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड प्रदान गरेको पनि उल्लेख छ।