अमरिकाबाटै आयो सुनिता डङ्गोललाई मार्न उर्दी
काठमाडौं – सुनिता डङ्गोललाई मार्न अमेरिकाबाट उर्दी आएको छ । अमेरिका बस्दै आएकी मनिषा पराजुली नामकी युवतीले काठमाडौँ महानगरपालिकाकाकी उपमेयर सुनिता डंगोलको नामै लिएर हत्या गर्न उक्साएकी हुन् ।
‘त्यो उपमेयर सुनिता डंगोल कहाँ मरी, त्यसको केपी बाको अगाडि छे कि पछाडि ?’, उनले फेसबुकमा लेखेकी छन् । प्रहरीले अमेरिकामा बसेर हत्या गर्न उक्साउने युवतीलाई नोटिसमा राखेको छ । उनका स्क्रिनसट प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ ।
जेन—जी आन्दोलनका नाममा मच्चाइएको विध्वंसमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन् । प्रत्यक्ष संलग्नलाई पहिले समात्ने योजनामा रहेको प्रहरीले उक्साउनेहरूको पनि प्रमाण संकलन गरिरहेको छ ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियो, फोटो र सिसिटिभी फुटेजअनुसार केही तथाकथित सेलिब्रेटी, कलाकार, युट्युबर,नक्कली अभियन्ता र जेलबाट छुटेका कैदीसमेत यस्तो कुकर्ममा रहेको खुलिसकेको छ । विदेशमा रहेर मुलुकभित्र बितण्डा मच्चाउनेहरूको पनि धमाधम पहिचान खुल्न थालेको छ ।
अमेरिकामा बसेर नेपाल जलाउन उक्साउने फेसबुकमा मनिषा पराजुली नाम गरेकी ती युवतीले भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विध्वसं मच्चिरहँदा पटक-पटक आपत्तिजनक पोष्ट गरेकी थिइन् । त्यसको स्क्रिनसट प्रहरीले अनुसन्धानका लागि संकलन गरेको बताइएको छ ।
‘कोही नेता मारियो भन्ने खबर सुन्न अहिलेसम्म किन पाइएको छैन?”, पराजुलीले लेखेकी छन्, ‘उनीहरुलाई कुटेर मात्र पुग्दैन,हत्यारा हुन् यिनीहरु !’, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलको नामै लिएर उनले हत्या गर्न उक्साएको देखिन्छ । ‘कहाँ मरी त्यो, त्यसको केपी बाको अगाडि छे कि पछाडि ?’, फेसबुकमा उनले लेखेकी छन् ।
अर्को स्टाटसमा पराजुलीले दिनेश राउत नामका व्यक्तिलाई मेन्सन गर्दै कम्तिमा एउटा नेतालाई मार्नुपर्ने उत्तेजक कमेन्ट गरेकी छन् । निर्देशन दिंदै लेखेकी छन्, ‘छोड्नु हुँदैन,भेटेपछि एउटालाई त मार्नुपर्छ । अनि ती आत्मालाई शान्ति मिल्छ ।’ भदौ २३ गते मारिएका युवा-विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र घाइतेलाइ नि:शुल्क उपचारका लागि आप्रवासी नेपाली नै लाग्नुपर्नेमा जोड दिँदै उनले पैसामा नबिक्न घुमाउरो चेतावनीसहितको अर्को स्टाटस पनि पोष्ट गरेकी थिइन् ।
‘पैसाले किन्न मिल्दो रहेछ भने हामी ६०० सांसद, नेता र यिनीहरुका छोराछोरीको ज्यान किनिदिन्छौँ’, उनको अराजक स्टाटस छ । हातमा कफी लिएर बर्गर खाँदै देशको चिन्ता गर्ने यिनलाई नेपालमा २७५ जना सांसद रहने व्यवस्था छ भन्ने पनि थाहा नभएको यसबाट बुझिन्छ ।
उनको अर्को फेसबुक स्टाटसमा मृतकलाई शहीद घोषणा र क्षतिपूर्ति बापत पैसा होइन एक लास बराबर २ नेता वा तिनीहरुका छोराछोरीको लास चाहिने लेखिएको छ ।राजनीतिक दलका नेता-कार्यकर्ताको पछिल्लो सक्रियतालाई पराजुलीले एउटा पनि नेता नमर्नुको परिणाम हो भनेकी छन् । लेख्छिन्, ‘एउटा पनि नेता मरेनन्, त्यसैको परिणाम हो,उफ्रिन थालिसके ।’