आमालाई ‘रक्तदान गरेर फर्किन्छु’ भनेर गएका गोपाल, कहिल्यै नफर्किने गरि अस्ताए

शनिबार, ४ असोज २०८२

काठमाडौं – गत भदौ २४ गते झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए । ७६ वर्षीया आमा गुनमायाले सोधिन्, “कता हिँड्न लागेको कान्छा रु”

गोपालले जवाफ दिएका थिए, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिडेका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उनी सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए।

विर्तामोड गएपछि उनी सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उनले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा गएका थिए ।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उनको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।

उनकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झैं योग सिकाउन शिविरमा गएका थिए । त्यहाँबाट फर्केपछि उनले गोठमा गएर गाई दुहुनु भयो ।

त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल गए । आमासँगै दही चिउरा खाएर उनी विर्तामोड गएका थिए । “आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाइन्, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”

अपराह्न ४ बजेतिर उनलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु¥याइएको थियो । गोलीले छाती छेडेका कारण उनको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित थिए ।नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताए ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने वित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भने, “एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ ।”

उनी अविवाहित थिए । उनकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताईन् । जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताईन् ।