यो बर्षको दशैं हिले दशैं हुने सम्भावना

शनिबार, ४ असोज २०८२

काठमाडौं – यो बर्षको दशैं हिले दशैं हुने भएको छ । मनसुनी प्रणाली अझैसम्म पनि सक्रिय रहेकाले दसैँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । सामान्यतया नेपालबाट अक्टोबर २ तारिखका दिन मनसुन बाहिरिने गरेको छ । अक्टोबर २ मा यो वर्ष दसैँको टीका (विजया दशमी) परेको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो तर यही दिन नै मनसुनी प्रणाली बाहिरिहन्छ भन्ने छैन ।

केही दिनपछि पुनः मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान छ । त्यो समय दसैँ सुरु भइसकेको हुनेछ ।“केही दिनपछि पुनः मनसुन सक्रिय हुनेछ,” मौसमविद् महर्जन भन्छिन्, “त्यो प्रणाली केही दिन सक्रिय रहँदा वर्षा हुनेछ ।” वर्षा भए पनि लगातार झरी नपर्ने उनी प्रष्ट पार्छिन् ।

विजय दशमी ९असोज १६ गते० तिर मनसुनी प्रणाली बाहिरिसक्छ वा नबाहिरिए वर्षा कुन मात्रामा हुन्छरहुँदैन भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । तर, पानी परे पनि झरी नै पर्ने सम्भावना नरहेको उनी प्रष्ट पार्छिन् ।

विजया दशमी आउन अझै १०र१२ दिन बाँकी रहेको तर मौसमी प्रणाली तत्कालै परिवर्तन हुने सम्भावना रहने भएकाले अहिले नै निश्चित गरेर यस्तै नै हुन्छ भनेर भन्न नसकिने उनी बताउँछिन् । “त्यसैले हामी दशमीको तीनरचार दिन अगाडि दसैँ विशेष मौसम बुलेटिन जारी गर्नेछौँ,” उनी भन्छिन् ।

जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी प्रणाली नेपालबाट बाहिरिने अनुकूल वातावरण विकास हुँदै गएको बताउँछन् । उनका अनुसार भारतका विभिन्न भागबाट मनसुन बाहिरिन थालेकाले यो क्रम नेपालको सुदूरपश्चिम प्रदेशमा अबको चार दिनमा आइसक्ने सम्भावना उच्च छ । भारत मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली आजसम्म राजस्थान, गुजरात, पञ्जाब र हरियाणाका केही भागहरूबाट बाहिरिसकेको छ ।

“अफगानिस्तान, पाकिस्तान हुँदै मनसुनी प्रणालीलाई धकेल्दै आउने प्रणाली क्रमशः अगाडि बढिरहेको छ, यो प्रणाली थप स्ट्रङ हुँदै छ,” जलवायुविज्ञ उप्रेती भन्छन्, “यो प्रणाली स्ट्रङ हुनु भनेको मनसुनी प्रणाली बाहिरिँदै जानु हो ।”

भोलिबाट मनसुन थप कमजोर हुँदै जाने र यसले नेपालमा मनसुनी प्रणाली बाहिरिन अनुकूल वातावरण बन्दै जाने उनी बताउँछन् । सप्तमी अर्थात् फूलपाती ९असोज १३ गते)सम्म सुदूरपश्चिमदेखि वाग्मतीका पूर्वी भागसम्म मनसुन बाहिरिने सम्भावना उच्च रहेको उप्रेती बताउँछन् ।