पाँच देशले नेपालीहरुलाई भिसा नदिने

आइतबार, ५ असोज २०८२

पाँच देशले नेपालीहरुलाई भिसा नदिने
काठमाडौं— पाँच देशले नेपालीहरुलाई भिसा नदिने भएका छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, मलेसियाले नेपालीलाई पूर्णरुपमा भिसा नदिने निर्णय गरेका छन् भने क्यानडा र दक्षिण कोरियाले आंशिक रुपमा भिसा नदिने निर्णय गरेका छन् ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य राष्ट्रले नेपालीलाई भिजिट र वर्किङ भिसामा रोक लगाउँदा यसले नेपाल र नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ । दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ भने क्यानडाले माइग्रेसन भएर जान चाहने नेपालीलाई नलिने भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेनजी आन्दोलनमा देखिएको हिंसात्मक स्वभाव र आन्दोलनपछि कारागारबाट भागेका कैदीबन्दीलाई मुख्य कारण बनाएका छन् ।

नेपालीलाई भिसा दिन रोकेका र रोक्ने तयारी गरिरहेका देशले त्यसो गर्नुपछाडि दुई वटा कारण रहेको स्पष्ट संकेत नेपाललाई दिएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दुई कारणमा पहिलो छ, ‘जेनजी आन्दोलनमा नेपालका कारागारबाट भागेका कैदीबन्दी ।’ दोस्रो कारण हो, ‘नेपालीमा देखिएको हिंसात्मक स्वभाव ।’

“कारागारबाट भागेका कैदी—बन्दीहरू आफ्नो देशमा आउलान् भन्ने ठूलो चिन्ता यूएई, कतार र मलेसिया सरकारलाई परेको छ । यस्ता अपराधकर्मीहरू आफ्नो देशमा प्रवेश गरे आफ्नो देशमा अपराध बढ्ने र अशान्ति हुने बुझाई उनीहरूको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनमा १५ हजार कैदी—बन्दी कारागारबाट भागेका थिए । नेपालमा कारागारमा रहेका करिब २९ हजार कैदी—बन्दीमध्ये आधाभन्दा बढी जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए । भागेको १२ दिन बितिसक्दा पनि हालसम्म अझै ९ हजार जति कैदीबन्दी फर्केका छैनन् ।

“जेनजी आन्दोलनमा धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भयो, यसले विदेशीमा नेपालीको स्वभावै हिंसात्मक हुन् भन्ने परेको छ । जसकारण पनि उनीहरूले नेपालीलाई दिने भिसामा कडाई गरेका छन् । यसले विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी पनि प्रभावित हुने देखिन्छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

गृह मन्त्रालय स्रोतका अनुसार, जेनजी प्रदर्शनमा एकै दिन देशभरका ६०५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । यो प्रारम्भिक विवरण हो । यो संख्या अझै ठूलो छ ।

जेनजी प्रदर्शनमा तोडफोड र आगजनी गरिएकामध्ये २६३ वटा सरकारी कार्यालय पूर्ण ध्वस्त छन् । ३४२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति भएका थिए ।

जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए । भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालयहरू, सर्वोच्च अदालत, संसद भवनलगायत सरकारी, निजी र व्यापारिक भवनहरूमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा पनि तोडफोड र आगजनी गरेका थिए । अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा पनि आगजनी गरिएको थियो ।

तोडफोड र आगजनीका घटना सबै भदौ २४ गते विहान १० बजेदेखि राति १० बजेसम्म १२ घण्टाको अवधिमा भएका थिए ।

“यति छोटो अवधिमा यति धेरै सरकारी कार्यालय, निजी तथा व्यापारिक भवन तोडफोड र आगजनी हुनु विश्वमा विरलै हुने घटना हुन् । यसले गर्दा नेपालीहरूमा हिंसात्मक स्वभाव रहेछ भन्ने सोच विदेशीमा पलाएको छ । त्यहीकारण उनीहरू भिसा रोक्नेसम्मको निर्णय गर्न पछि परेका छैनन्,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।