संगीता मिश्राका कारण रोकियो पाँच मन्त्रीको नियुक्ति

सोमबार, ६ असोज २०८२

काठमाडौं – आर्थिक अनियमिततामा जोडिएकी संगीता कौशल मिश्राका कारण मन्त्री नियुक्तिका लागि सिफारिस भएका पाँच जनाको नियुक्ति रोकिएको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरण आपूर्तिकर्ताको स्वार्थमा काम गरेको आरोपमा मुछिएकी थिइन्।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेला उनले मिश्रासहित आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेर खरिदमा अनियमितता गरेका थिए। मिश्रा विभाग प्रमुख हुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो।

बस्नेत मन्त्रीबाट हटेपछि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र प्रदीप यादवको पालामा समेत मिश्रा विभागमै टिकेकी थिइन्। प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि उनको सरुवा भएको थियो। पौडेलले मिश्राको सरुवा गरेर विकास देवकोटालाई विभागको प्रमुख बनाए पनि देवकोटाले समेत मिलेमतोमै खरिद प्रक्रिया अगाडि बढाएको आरोप छ। पछि उनी बढुवा भएर मन्त्रालयको सचिव बने।

बस्नेतको पालामा विभागले अनियमित रूपमा गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन ‘जेन-जी’ पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनको बलमा बनेको भनिएको सरकारले आइतबार सिफारिस गरेको थियो।

मन्त्री नियुक्त हुने निश्चित भएपछि मिश्राले आइतबारै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार साँझ नै राष्ट्रपति कार्यालयमा नाम पठाइएको थियो।