जेनजी आन्दोलनमा गोली चलाउन निर्देशन दिने गृहसचिवलाई कारवाही हुने

सोमबार, ६ असोज २०८२

काठमाडौं—जेनजी आन्दोलनमा गोली चलाउन निर्देशन दिने गृहसचिवलाई कारवाही हुने भएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले गृहसचिव गोकर्णमणि दुवाडीको जिम्मेवारी खोसेर जगेडामा राख्ने तयारी गरेको छ । सम्भवतः मन्त्रिपरिषद्को आगामी बैठकबाट उनलाई हटाउने तयारी गरिएको श्रोतले जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको एसमेनको रुपमा काम गर्दा जेनजी आन्दोलनमा ७४ जना युवाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीको जिम्मेवारी अन्त सार्ने तयारी भएको छ । तत्काल कुनै कर्मचारीलाई सरुवा,कारबाही नगर्ने भनिए पनि अन्तरिम सरकारले दवाडीलाई हटाउन लागेको बताइन्छ ।

सम्भवतः मन्त्रिपरिषद्को आगामी बैठकबाट उनलाई हटाउने र अर्का एक जनालाई गृहमा ल्याउने बुझिएको छ ।

यता, प्रधानमन्त्री कार्यालय मातहत रहेका केही महत्वपूर्ण निकायलाई पूर्ववत अवस्थामा लाने तयारी छ । हिजोको क्याबिनेट बैठकले गर्ने भनिए पनि गृहकार्य नपुगेकाले आगामी बैठकमा त्यसबारे निर्णय हुने भएको छ ।

राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई पूर्ववत रुपमा सम्बन्धित मन्त्रालय मातहत राखिने बुझिएको छ । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा ती विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।

महत्वपूर्ण सूचना प्राप्तीका कारण ओलीभन्दा उनका सल्लाहकारले ती विभागलाई आफ्नो पक्षमा पारेको महसुस गरेपछि असन्तुष्टि बाहिरिएको थियो । तर, ओली सरकारले त्यसलाई सम्बोधन नगरेपछि अहिले प्रधानमन्त्री कार्यालय मातहतबाट हटाउन लागिएको स्रोतको दावी छ ।

गुप्तचरबाट प्राप्त हुने सूचनाबाट गृह मन्त्रालय बेखबर हुने तर प्रधानमन्त्रीका सल्लाहकारले गुपचुप त्यसको प्रयोग, दुरुपयोग गरेका धेरै घटना छ । सम्पत्ति शुद्धिकरण र राजश्व अनुसन्धानका सूचना पनि त्यसैगरी बालुवाटारमा अड्डा जमाएर बस्ने सल्लाहकारको घेरामा परेपछि ती विभागहरुको प्रभावकारिता पछिल्ला दिनमा लगभग शून्यप्रायः थियो ।

हिजोको क्याबिनेट बैठकमा अनौपचारिक रुपमा छलफल भएको उक्त विषय अर्को बैठकबाट निर्णय हुने एक जना मन्त्रीले जानकारी दिए ।