जेनजीहरुको कुटाईबाट थला परेकी आरजु राणाले अस्पतालबाटै धम्की दिईन्

सोमबार, ६ असोज २०८२

काठमाडौं—जेनजीहरुको कुटाईबाट थला परेकी आरजु राणाले अस्पतालबाटै धम्की दिएकी छन् ।

पार्टीभित्र महामन्त्री गगन थापासहितले विशेष महाधिवेशनको कुरा उठाउन थालेपछि अस्पतालबाटै सभापति शेरबहादुर देउवा पत्नी राणाले टेलिफोनबाटै धम्की दिएकी हुन् । ‘अहिले विशेष महाधिवेशनको कुरा निकालेर घाउमा नुन छर्ने काममा नलाग्नू, भोलि पार्टीमा सभापतिजीको उत्तराधिकारी त तपाईंहरू नै त हो नि। अब उहाँ (शेरबहादुरं) पनि ठीक हुँदै हुनुहुन्छ। त्यसपछि छलफल गरौँ न।’ भन्दै धम्क्याएको एक नेताले बताएका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण नेपाली कांग्रेस एकैपटक सत्ता र सांसदविहीन हुन पुग्यो। पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि त भदौ २४ गते आन्दोलनकारीले मरणासन्न हुने गरी हमला नै गरे।

बुढानीलकण्ठस्थित निवास तोडफोड र आगजनी गरी ध्वस्त बनाए। उनीहरूलाई सेना, प्रहरी र केही मनकारी आन्दोलनकारीकै सहयोगमा उद्धार गरियो।

अहिले उनीहरू अस्पतालमा उपचाररत छन्। सभापति देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाएको कांग्रेसले नै जानकारी दिएको छ।

यही बेला नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस पनि सुरु भएको छ। खास गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जेनजीको आन्दोलनपछि विशेष परिस्थिति भन्दै विशेष महाधिवेशनको विषय उठाइरहेका छन्।

केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने सम्भावना नदेखेपछि उनीहरूले हस्ताक्षर अभियान नै चलाउने तयारी गरिरहेका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ।

भ्रष्टाचार अन्त्य, सुशासन र नेतृत्व परिवर्तनका लागि कुरा उठाए पनि टुंगोमा पुर्‍याउन नसकेको भन्दै महामन्त्री थापाले त आत्मआलोचना नै गरिसकेका छन्।

‘हामीले सही कुरा उठायौँ तर टुंगोमा पुर्‍याउन सकेनौँ, त्यही हाम्रो सबभन्दा ठूलो कमजोरी भयो। तर अब छाड्दैनौँ,’ थापाले भने।

उनले ०४६ सालयता सरकारी निकायमा जोडिएका सबैको छानबिन गर्न पनि प्रस्ताव गरेका छन्।

पार्टीले यो समयमा के गर्ने भन्ने प्रश्न गर्दै उनले त्यसको निकास पनि सुझाएका छन्।

‘यो बेलामा हामी पार्टीले के गर्ने हो ? यत्रो उथलपुथल भएको छ। हामी पार्टीलाई जस्ताको त्यस्तै राखेर हुन्छ ? राखेर टिकाउन सक्छौँ ? राख्ने प्रयत्न गर्न हुन्छ ? यत्रो उथलपुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावना बुझ्न सक्ने पार्टी बनाउनु छ कि छैन ? छ,’ थापाले भनेका छन्, ‘पार्टीको रुपान्तरण र परिवर्तन नगरी यो सम्भव छैन। यो पटक छोड्दैनौँ। यो बेलामा गर्ने भनेको पार्टीको व्यापक पुनर्गठनका लागि पार्टीको अधिवेशन यो बाहेक हामीसँग विकल्पै छैन।’

नियमित महाधिवेशन या विशेष महाधिवेशनमध्ये एउटालाई तत्काल अघि बढाउन थापाले प्रस्ताव गरेसँगै पार्टीमा उनको विपक्षमा खासगरी सभापति देउवानिकट नेताहरू उत्रिसकेका छन्।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले त अहिले विशेष महाधिवेशनको कुरा गर्ने समय नै नभएको भनिदिए।

पार्टीको हालै भएको कार्यसम्पादन समिति बैठक उनकै संयोजकत्वमा बसेको थियो। उक्त बैठकमा उनले निर्णय नै गराए– सभापति स्वास्थ्यलाभ गरेर नफर्केसम्म कार्यवाहक कसैलाई नदिने र विशेष महाधिवेशनबारे अहिले छलफल नगर्ने।