शेरबहादुर देउवा र पत्नी आरजु देउवाको उपचार पूरा
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाको उपचार पूरा भए पनि अझै अस्पतालमै बसिरहेका छन्।
भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा भएको लुटपाट र तोडफोडपछि उनीहरू घरबारविहीन बनेका थिए। सोही दिन प्रदर्शनकारीले दम्पतीमाथि कुटपिट गरेपछि सेनाको निगरानीमा उद्धार गरी उपचार गराइएको थियो।
सैनिक स्रोतका अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। तर, बसोबासका लागि नयाँ भाडाको घर नटुंगिएको कारणले उनीहरू अझै अस्पतालमै छन्।
काठमाडौँ र ललितपुर क्षेत्रमा नयाँ घर खोजी भइरहेको बुझिएको छ। उता, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नै बालकोटस्थित घर आगजनी र तोडफोडमा परेपछि भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्न थालेका छन्।