बालेनले जेनजीसँग गोप्य वार्ता गरेको’ भिडियोको रहस्य खुल्यो

बिहिबार, ९ असोज २०८२

काठमाडौं—बालेनले जेनजीसँग गोप्य वार्ता गरेको’ भन्दै सार्वजनिक भिडियोको रहस्य खुलेको छ ।

२०८१ साल फागुन ८ गते भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनको भिडियोलाई एमालेहरुले बालेनको बैठक भन्दै प्रचार गरेका हुन् ।

त्यतिबेला किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क र आवरण छोपेर पत्रकार सम्मेलन गरेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजीबीच गोप्य भेटवार्ता भएको दाबी गर्दै मास्क लगाएका केही व्यक्तिहरूको फोटो र भिडियो तीव्र रूपमा भाइरल बनेका छन्। एमाले नेता महेश बस्नेतले समेत सामाजिक सञ्जालमार्फत उक्त भिडियो शेयर गर्दै बालेनले जेनजीको गोप्य बैठक बोलाएको दाबी गरेका छन्।

तर, छानबिन गर्दा उक्त दाबी निराधार भएको खुलेको छ।

यथार्थमा ती दृश्यहरू २०८१ साल फागुन ८ गते भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनका हुन्। जतिबेला किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो।

त्यसपछि त्यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षाप्रति प्रश्न उठेपछि उनीहरूले मास्क र आवरणसहित पत्रकार सम्मेलन गरेका थिए।

विद्यार्थीहरूले भनेका थिए, सुरक्षाको पूर्ण सुनिश्चितता नभएसम्म कलेज नफर्किने। उनीहरूले विश्वविद्यालय प्रशासन तथा सम्बन्धित निकायसँग आफ्नो ज्यान सुरक्षित हुने लिखित आश्वासन मागेका थिए। हाल किट विश्वविद्यालयमा करिब १,५०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्, जसको शिक्षा र सुरक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने माग पनि उठाइएको थियो।

यो पत्रकार सम्मेलन विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयमा उत्पन्न तनावका कारण घर फर्किएका विद्यार्थीहरूले आयोजना गरेका थिए।

तर पछिल्लो समय यही भिडिओलाई तोडमोड गरी ‘बालेन शाह र जेनजीबीचको गोप्य वार्ता’ भनेर प्रस्तुत गरिएको छ, जसको वास्तविकता पूर्ण रूपमा भिन्न रहेको प्रमाणित भएको छ।