‘ब्रेल लिपिमा लेखिएको प्रेमपत्र’
दुष्टिविहीनहरुको बिद्यालयबाट टकटक आवाज वाहिर आइरहेको थियो, ब्रेलमा लेखिँदै गरेको आवाज । कक्षा दशमा गुरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पढाउँदै थिए । घण्टि बज्यो, गुरु बाहिरिए । कक्षामा ब्रेलको मौनता र सन्नाटा छायो । त्यही मौनतालाई चिर्दै, सन्ध्याले ब्रेल टेबलमा टकटक गरिन् । अरविनको ध्यान आवाजमा तानियो । ‘तपाई नयाँ बिद्यार्थी हुनुहुन्छ, हो ?’ सन्ध्याले सोधिन् ।
‘हो,’ अरविनले उतर दियो ।
‘तपाईको घर कहाँ हो ?’
‘पोखरा । म तिलगंगामा आँखाको उपचार गर्न बुबाआमासँग आएको हुँ । धेरै समय लाग्ने भएपछि अहिले हामी चाबहिलमा बस्छौँ ।’
‘अँ, म पनि चाबहिलमै बस्छु । तपाईले हिजो गाउनु भएको गीत साँच्चिकै मीठो लाग्यो ।’
‘धन्यवाद, मैले चार वर्षअघि देखि संगीतको कक्षा लिँदै आएको छु । हार्मोनियम पनि बजाउन जान्दछु । तपाईलाई आउँदैन ?’
‘आउँछ । गीत गाइदिउँ ?’
‘कक्षामा …. ?’ अरबिन अचम्मित बन्यो ।
अरबिनको अबोधतालाई सुनेर सन्ध्या मुस्कुराइन्, अरविन पनि मुस्कुरायो । सन्ध्याले ब्रेल पेपर उसको तिर सारिन् , ‘यस्मा मेरो नयाँ साथीको नाम लेखिदिनुस् ।’
अरविनले स्टायलसले पेपरमा बिन्दुहरु घोचेर लेख्यो– अरबिन । सन्ध्याले ती बिन्दुहरुमा औँला चलाइन् । नाम पढेपछि उनको ओठबाट मधुरो स्वरमा निस्कियो –“अरबिन” । त्यो नाम मुटुमा गएर टाँसियो ।
घण्टी बज्यो । आज सन्ध्या एक्ली भइनन् । दुबै जना हात समात्दै, स्टिक टक्टयाउँदै घर फर्किए । यसरी सुरु भयो उनीहरुको नयाँ यात्रा– बिद्यालयबाट घर र घरबाट बिद्यालय ।
गीत,ठट्टा र दुखसुख साट्दै उनीहरुको मनभित्र प्रेम अंकुरिन थाल्यो । ओठबाट अभिब्यक्त हुन नसकेका अभिब्यक्तिहरु ब्रेल पेपरमा फुल्थे । एक दिन सन्ध्याले ब्रेल पेपरमा पढिन् – “म तिमीलाई प्रेम गर्छु ।” उनले पनि प्रतिक्रियामा लेखिन् – “तिम्रो प्रेमलाई म पनि प्रेम गर्दछु ।”
प्रेमले प्रेम प्राप्त गरे पछि, जीवन उल्लासमय भयो । संगीत कक्षामा उनीहरु सँगै बस्थे । सन्ध्या गाउँथिन्, हाँगा हाँगा वनभरि चैत्र फुलेछ भने अरविन नारायण गोपाललाई गाउँथ्यो – मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ पिर हो । कहिलेकाहीँ युगल पनि गाउँथे– हे कान्छा ठट्टैमा यो बैंश जान लाग्यो । यसरी गीत गाउँदा अरविनले हार्मोनियम चलाउँथ्यो । अरविनले कुशल तरिकाले हार्मोनियम चलाएको सुन्दा सन्ध्याले भन्थिन् ‘तिम्रा औँलामा ईश्वरको वास छ, नत्र बन्द आँखामा पनि यति मीठो धुन कसरी सम्भव भयो ? कस्तो राम्रो बजाउँछौ तिमी ।’ आफ्ना औँलामा ईश्वरको वास छ भन्दा केही नबोली लाजले अरविनको शिर निहुरिन्थ्यो ।
अरविनलाई जीवनमा पहिला आँखाको ज्योति नभएकोमा निकै दुखेसो थियो । जीवनमा सन्ध्याको प्रवेश भएदेखि गुनासा मेटिँदै गइरहेका थिए । एकदिन घरमा आमा ऐना हेर्दै हुनुहुन्थ्यो । अनायासै अरविनले सोध्यो, ‘आमा म कस्तो छु ?’
‘किन र बाबु, तिमी निकै राम्रो छौ, गुलाफको फूलजस्तै । अव केही महिनामा तिम्रो आँखाको अप्रेसन हुन्छ, आफ्नै आँखाले हेर्नु न अनि थाहा भैहाल्छ नि कस्तो छौ भनेर ।’
आमाले यति भन्दैगर्दा, अरविनका आँखाबाट झरेका टपटप पानीले उसको गाला चिस्याए ।
त्यो दिन बाटोमा सन्ध्याले सोधिन्, ‘तिमी त निकै खुसी देखिन्छौ आज, किन अरविन?’
अरविनले भन्यो, ‘आमाले भन्नुभएको म त गुलाफ जस्तै सुन्दर छु रे । अनि मेरो चाँडै अब अप्रेसन पनि हुन्छ रे । डाक्टरले भन्नु भएको रे, मेरा आँखाको कोर्निका मात्र बिग्रिएकोले मैले चाँडै आँखा देख्छु रे’
एकमनले सन्ध्या खुसी भइन्, अरविनको कुरा सुनेर फेरि अर्को मनले दुखी पनि भइन् र सुस्केरा हाल्दै बोलिन् ,‘तिमीले आँखा देखे पछि मलाई बिर्सने त होइन । म त अन्धीको अन्धी नै हुन्छु । म त कहिले पनि देख्न सक्दिनँ ।’
अरबिनले भन्यो, ‘मैले तिम्रो आँखालाई प्रेम गरेको हो र ? मैले त तिमीलाई पो मन पराएको हो । म त मेरो यो बाँकी जीवन तिमीसँगै बिताउने हो । यो मेरो वाचा भो, मेरो आँखा खुले पछि तिमीलाई भेटन आउँछु । तिमी गुलाफको फूल लिएर आउनु । त्यो बेला भन्नेछु, गुलाफको फूल सुन्दर कि तिमी ।’
सन्ध्याले खुसीले आफ्नो शिर अरविनको छातीमा राखेर बोलिन् ‘अरबिन, म जस्तो भए पनि मलाई स्वीकार गर है । जीवनको बाँकी तस्वीरहरु अव तिम्रो आँखा सापटी लिएर हेर्छु । म नराम्रो देखिए कतै तिमीले छोडेर त हिँडदैनौ ?’
अरविनले सन्ध्याको हात समात्दै बोल्यो, ‘मेरा आँखाले तिमीलाई स्वीकार्दैनन् भने म फेरि ती आँखाको ज्योति निभाएर यो स्टिक नै समात्न आउनेछु । जीवनको यति लामो यात्रा त यो अँध्यारोमै बिताइयो भने मलाई बाँकी जिन्दगीमा उज्यालोको दुई दिन किन चाहियो ?’
दुबैका ज्योतिविहीन आँखाबाट पानीका बुँदहरु टपटप झरे ।
दुबैका चिसा आँखा पालैपालो पुछदै सन्ध्या बोलिन्, ‘अरविन, मलाई तिम्रो साथ चाहिन्छ । मैले पनि बाँकी जीवन तिमीसँगै बिताउने निधो गरिसकेँ । तिमीले मलाई धोका दिएर गयौ भने म बाँच्न सक्दिनँ । म मर्नेछु अरविन …. म मर्नेछु ।’
अरविनले सन्ध्यालाई अँगालोमा बेसरी कसेर, गीतको पंक्ति गुनगुनायो– तेरी आँखो के सिवा, दुनियाँ मे रखा क्या हे । ये उठे सुवह चले, ये झुके शाम चले । अरविनले गीत गाउँदै गर्दा, सन्ध्याले अरविनको छातीमा आफ्नो अनुहार फूलको थुंगा जस्तो हलुको तवरले ओछयाइदियो । गीतको भावावेशमा बहकिएर, एकले अर्कोलाई अँगालोमा बेसरी कस्दा, दुबैको सेतो छडी भुइँमा खसे । सेतो छडी भुइँको टिप्न खोज्दा, कसैले हर्न दिएर गाली गरेको आवाज सुनियो, ‘राम्ररी हेरेर हिँड, अन्धाहरु । बाटोमा लैला मजनु भएर हिँडयो भने, गाडीले किचेर मार्दैन तिमीहरुलाई ?’
‘हजुरले टिपेर दिनुस् न हाम्रा सेता छडी कहाँ छ ।’ अरविनले भन्यो
‘म टयाक्सीबाट ओर्लेर दिने त । पछाडी जाम भैसक्यो ।’
अरविन लज्जित भयो, उनीहरुको एक मिनेटको प्रेममा, यो भागदौडको शहर, टाढा टाढासम्म स्तब्ध भएको रहेछ । आँखामा ज्योति नहुँदा पोखिएको प्रेम, सडकको बीच भागमा परेछ । दुबै आफनो यो गल्तिमा लज्जित भए । छिटो छिटो सडकमा छामछुम गरी, सेतो छडी खोजेर बाटोको किनारसम्म आउँदा सहर फेरि आफ्नै लयमा बग्यो । सहर आवाज दिँदै बगेको टाढैसम्म सुनियो ।
समय बित्दै गएको थियो । अरबिनले सन्ध्यालाई ब्रेलले लेखेर जानकारी दियो कि उसको अप्रेसन अब केही दिनमा हुँदैछ, केही दिन बिद्यालय आउन पाउँदिन भनेर । यो खबर गरेको केही दिन पछि अरबिन बिद्यालय आउन छोडयो । त्यो समयमा अरबिनको आँखाको अप्रेसन भयो । अपेक्षा गरे जस्तो, अरबिनको अप्रेसन सफल भयो । आँखामा बाँधेको कपडाको टालो हटेसँगै एउटा सृुन्दर संसार अरबिनको उज्यालो आँखामा आएर टप्प बस्यो । उस्को सुन्दर संसार आफ्नै आमाको सुन्दर अनुहारबाट सुरु भयो । आमाले अरबिनलाई हेर्दै मुस्कुराउँदै बाबु भनी बोलाउँदा उसलाई लाग्यो यो आवाज आमाको हो भनी थाहा थियो आज साक्षात अनुहार देखेँ । उसले सोचेको पनि थिएन संसार यति सुन्दर छ भनेर । हस्पितलको झ्यालबाट प्रकृतिलाई हेरेको पहिलो नजरमा, निलो आकास परसम्म पुगेर धर्तीमै खसेको थियो । “म यही हातले संसार छोइरहेको थिएँ आज देखेँ” उसले आफ्नै एउटा हातलाई अर्को हातले मायाले सुम्सुमायो । त्यहा वरिपरि झुमिरहेका हरेक मानिसको अनुहारमा सौन्दर्य थियो, खुसी थियो । त्यस पछि हस्पितलको बगैंचामा फुलिरहेका रंगीचंगी फूल धित मरुन्जेल हेर्यो, रातमा पनि आकासमा लुकामारी खेलिरहेका तारा, चन्द्रमा हेर्यो । त्यो दिन संसारलाई हेर्दाहेर्दै खृुसीले उसको आँखा टिलपिल भयो ।
भोलिपल्ट बिहानै आमाले कपडाको टालो हटाउँदै कागजले बेरिएको एउटा उपहार दियो । उसलाई थाहा थिएन, कागजको आकृतिभित्र अरु आकृति सजाउन सकिन्छ भनेर । कागज खोल्दै जाँदा एउटा टल्केको शिशा भेटायो जस्मा उस्कै रुप प्रतिविम्वित भइरहेको थियो । आमाले भन्नुभयो ‘ यो ऐना हो । तिमीले जस्लाई देख्यौ त्यो तिमी नै हो । कहिलेकाँही सोध्थ्यौ होइन, म कस्तो छु भनेर आज आफैले हेर आफूलाई” यति भन्दै आमा मुस्कुराइन् । उसले फेरि त्यही ऐनामा आफूलाई हेर्यो । उसले ऐनामा आफूलाई निकै सुन्दर पायो । आफ्नो सौन्दर्यमा भुलिरहेको बेला, हठात उसलाई सन्ध्याको याद आयो । उसलाई लाग्यो, यो सुन्दर संसारमा सन्ध्या पनि सुन्दर हुनुपर्छ । उसको मनमा सन्ध्यालाई हेर्ने कुतुहलता निकै बढयो । एकदिन सन्ध्यालाई हेर्ने कुटुहलतासहित अरविन बिद्यालय गयो, आफ्ना पुराना साथीहरुलाई पनि भेटन । गुरुले उसलाई कक्षामा लगेर एक एक जना साथीहरु चिनाउँदै देखाए – यी कृष्ण, प्रतिभा, राधा, हरि, मिना, सुन्दर, सन्ध्या । सन्ध्या भन्नेवितिकै उसको मुटु ढुकढुक भयो । उसले सन्ध्यालाई लिएर जुन अपेक्षा गरेको थियो, सन्ध्या त्यस्ती थिइनन् । सन्ध्याको आधा अनुहार आगोले जलेको थियो, जस्ले गर्दा उसको अनुहार निकै असुन्दर देखिरहेको थियो । उसै त जलेको अनुहार त्यस्मा कालो चश्माभित्र डरलाग्दा आँखा हेर्दाहेर्दै उसलाई घिन लागेर आयो । उसले सन्ध्यासित एक शब्द पनि बोलेन । सरासर कक्षाबाट बाहिर आयो र कहिले पनि आफ्नो बिद्यालयमा पाइला टेकेन ।
सन्ध्याले चाल पाउन सकेन, अरविन सुटुक्क गएको । अरविन गए पछि हातमा समातेको फूलको थुँगामा सन्ध्याको आँसु टपटप खस्यो यो सोच्दै कि, संसार देखाउने वाचा गरेको मानिसले मैले समातेको एक थुँगा फूल पनि कस्तो छ भनेर गएन । अब उसलाई लाग्यो अरबिन फर्केन आउँदैन । यही सोचाइसँगै अरबिनलाई दिउँला भनेर लेखेको ब्रेलले लेखेको पेपर मुठीमा कोच्याइन् ।
अरबिनले आँखाको ज्योति पाए पछि पहिलेको जीवनको हिस्सा नै चोइटाएर फाल्यो । बिर्सयो, उसले एक दुष्टिविहीन सन्ध्यालाई जो अनुहारले पनि असुन्दर थियो । उसलाई घिन लाग्यो, ब्रेलले खोपिएका अक्षरहरु । च्याते पुराना सबै ब्रेलरुपी प्रेमपत्रहरु । आकासतिर हेरे उसलाई जून मन पर्यो, धर्तीतिर हेर्दा फूल । अव उसले आफ्नो विगतलाई बिर्सिदियो ।
त्यस पछिको दिनमा अरविनले शहरकै एक प्रतिष्ठित रेष्टुरेन्टमा गीत गाउन थाल्यो । त्यही रेष्टुरेन्टमा उस्को भेट एक सुन्दर महिला रिसेप्निष्टसँग भयो । पहिलो भेटमा नै दुबैको सामान्य कुराकानी भयो । उनको नाम थियो, सजिना । सजिनाको अनुहार निकै सुन्दर थियो । उनले बोल्दा कुनै मीठो आलाप तन्किए जस्तो लाग्थ्यो । आलाप जस्तो बोली सुन्दा सुन्दै अरबिन सजिनाको प्रेममा पर्यो । सजिनाको प्रेममा परे पछि अरबिनले सन्ध्यालाई सँधैको लागि बिर्सयो । उसले एक कुरुप अन्धि युवतीलाई सम्झेर आफ्नो जीवनको अमूल्य समय खेल्न फाल्न चाहेन । प्रेम परिपक्व भए पछि सजिना र अरविनले जीवनमा एकाकार हुने सोच राखे । घर परिवारको इच्छाको विरुद्धमा, सजिनाको सिउँदोमा अरविनले मन्दिरमा सिन्दुर लगायो ।
विवाह भए पछि, सजिनालाई अव अरविनको चार भिता साघुँरो लाग्न थाल्यो । एक महिना पछि सजिनाले आफ्नो घरमा बस्न जाने ढिपी गर्न थाल्यो । यो कुरा अरविनको आमाबाबुलाई मन परेको थिएन । सजिनाको जिद्दीको सामु उस्को केही चलेन । कि पत्नी कि आमाबुबा त्याग्नु पर्नै कठिन मोडमा उस्ले श्रीमतीलाई नै रोज्यो । सजिनाको घरमा पुगे पछि थाहा पायो कि सजिना डिभोर्स महिला रहेछ, अरविनलाई यो कुरा थाहा थिएन । पहिलो श्रीमानसँग आधा सम्पति लिएर पेप्पिकोलामा दुई तल्लाको घर बनाएर बसिरहेको रहेछ । जर्वजस्ति अरविन सजिनाको दाइजोको घरमा बस्न बाध्य भयो । विवाह पछि अरविनले सोचेको जस्तो उसको दाम्पत्य जीवन सुखमय भएन । सजिना र उसको वीचमा हरेक कुरामा कटुता आउन थाल्यो । सजिना राति राति घर आउने र त्यस्को कारण सोध्यो भनेर ‘मेरो घरको कोठा हो म जहिले आऊ तिमीलाई के मतलब’ भनेर छुच्चो जवाफ दिन्थी । यसरी झगडा परेको दिन अरविन घरमा जाँदैनथ्यो भने सजिनाले पनि अरविनलाई वास्ता गर्दिनथी ।
एकदिन अरविन साँझपख घरमा पुग्दा उसले सोच्दै नसोचेको दुश्य देख्यो । सजिना एउटै सिरक ओढेर, परपुरुषको अँगालोमा गुटमुटिरहेकी थिइन् । उस्लाई त्यो दुश्य हेरि नसक्नु भयो । एकमनले सोच्यो, एकाकार भएको दुई शरीरलाई कस्को शरीरको हिस्सा हो थाहा नहुने गरी काटुँ, तर अर्को मनले खबरदारी गर्योे– उस्को ओछयान, उस्कै शिरक, उस्कै तन्ना हो, शिरानी उस्कै, एकाकारको साक्षीमा बसेका चारै भिता उस्को, फेरि उस्को कोठामा गएर उसको शरीरको स्वतन्त्रतालाई ऊबाटै रोकटोक गर्ने म को हुँ ? उसले आफ्नै आँखालाई धिकार्यो, मैले आँखाको उज्यालो पाएको यही दुश्य हेर्नको लागि रहेछ । आफूलाई रोक्न सकेन र चिच्यायो, “के पारा हो त्यो ? को हो त्यो ?”
“मेरो पति”
“तिम्रो पति त म पो हुँ”
“दोस्रो पति थियौ अव होइन । मेरो पहिलो पतिलाई फेरि मैले स्वीकार गरेकी छु । उस्को सिन्दुरलाई तिमीले छोप्यौ, तिम्रो सिन्दुरलाई फेरि उसैले छोपेको छ । फस्र्ट इज फस्र्ट । दराजमा तिम्रो केही सामान छ भनेर लिएर जाऊ ।”
त्यस पछि उसले केही बोल्न सकेन । दुईजोर लुगा दराजबाट निकालेर आफ्नो झोलामा घुसार्यो । एकाकार भएको दुई शरीरमा एउटा शरीर कस्को हो हेर्दैनहेरी, श्रीमतीको घरबाट बेघर भयो ।
बाटोमा पनि उसको मनमा अनेकन कुरा खेले, साँच्चै भन्ने हो भने म आँखा भएको बेलामा भन्दा आँखा नभएको बेलामा नै सुखी थिएँ । मानिसलाई अँध्यारो भन्दा उज्यालो बोझ हुँदो रहेछ । म अँध्यारोमा नै धेरैपटक हाँसेको थिएँ । उज्यालोमा मलाई दिल खोलेर एकपटक हाँस्न पनि गाह्रो छ । उज्यालो पाएदेखि सँधै रोएको छु । जुन बेला मैले ब्रेलले लेखिएका प्रेमपत्रहरु च्याँते, त्यो बेलादेखि मेरो जीवनले मलाई च्यात्यो ।
जीवन वेवारिस भए पछि सबै कुरा वेबारिस हुँदो रहेछ । आमाबाबुले थाने, श्रीमतीको घरमा छ, फेरि श्रीमतीको घरबाट पनि आफ्नो दुईजोर लुगा लिएर बेघर भयो अरबिन । शहरको एक गुमनाम गल्लीको अँध्यारो कोठामा उस्ले चिसो सुस्केरासँगै आफ्नो झोला बिसायो ।
आज आएर उसलाई सन्ध्याको निकै याद आउन थाल्यो । एक अन्धी नारीको मन दुखाएको सजाय पो भोग्दैछु कि जस्तो लाग्यो उसलाई आज । ऊ जहाँ गए पनि सन्ध्यालाई खोजी गथ्र्यो । संयोगवस, वेवारिस यात्रा हिँडने क्रममा, एकदिन बाटोमा उस्ले सन्ध्यालाई देख्यो । सन्ध्याको हातमा स्पिकर थियो भने उस्को दुष्टिविहीन श्रीमानको काँधमा पानीको जार अनि उनीहरुको वीचमा उनीहरुको दश एघार वर्षको छोरो, जस्ले बाबुआमा दुबैको औँला समातेर बाटो देखाइरहेको थियो । उनीहरु के के कुरा गर्दै हाँस्दै हिँडिरहेका थिए । आफ्नो बाटो अलपत्र भएको जीवनको यो घडीमा, आज ऊ सन्ध्याको पछि पछि हिँडयो । सन्ध्या दुईतल्ला घरको भुँइतलाको कोठामा छिरिन् भने उनको श्रीमान र छोरा जारको पानी कोठामा राखेर फेरि हात समात्दै अन्तै गए । सन्ध्यालाई कोठामा एक्लै पाएर, अरविन विस्तारै सन्ध्याको कोठामा छिर्यो । अरविनले एकटक्क सन्ध्यालाई हेरिरहयो । उसको मनमा अनेकन कुरा खेल्न थाले । आल्मारीमा उसले स्टायलस, स्लेट र पेपर देख्यो । अनि निकालेर टेबुलमा राखेर खोप्न थाल्यो ब्रेल पेपरमा मनका भावनाहरु । टकटक आवाज आउन थाल्यो । ब्रेलको आवाज आउन थाले पछि आँटेको आवाजमा सन्ध्याले सोधिन्, “को हौ ? को हौ ?”
“म अ….रबिन …” अरविनले पनि काँपैकै आवाजमा जवाफ दियो ।
“किन आयौ तिमी यहाँ ?”
“यो शहर सानो रहेछ, सन्ध्या । साँघुरो शहरको पाइला आज यता टेक्यो, तिम्रो कोठामा ।”
“अरुको कोठामा टेक्नेलाई यो शहरमा चोर भन्छन् ।”
“म पनि चोर्न नै आएको हुँ । तिम्रो मुस्कान, प्रेम, सहारा……!”
“के छ र हामी अन्धाहरुसित ? कालो चश्मा, सेतो छडीहरु मनपर्छ भने लिएर जाऊ । तिमी मेरो कुरुप अनुहार देखेर भागेको होइन र ? तिम्रो गालामा ठूलो दाग छ भनेको भए पनि म सहजै स्वीकार्थे नि । म त्यो दिन तिम्रो एउटा शब्द सुन्न पनि तडपिएर बसेँ । मेरो आँसु कति बग्यो, थाहा छ तिमीलाई ? मेरो अन्धो आँखाको आँसुको मोल तिर्न सक्छौ तिमीले ? तिमी कुरुप छौ भनेको भए के जान्थ्यौ ? यति भन्ने हिम्मत पनि भएन है तिमीलाई । दुई वर्षसम्म त्यही दागलाई फूल सम्झेर चुमेर बस्यौ, जव आँखा खुल्यो, घिन लाग्यो तिमीलाई । बधाइ छ तिमीलाई तिम्रा आँखाहरु । आँखा पाए पछि त संसारको धेरै सुन्दर कुराहरु देख्यौ होला ।”
“देखेँ ।”
“के देख्यौ ?”
“परपुरुषको अँगालोमा आफ्नै श्रीमतीको नाँगो शरीर । कहाँ हुन्छ र पापी आँखाको संसारमा पवित्र प्रेम ?”
मौनता छायो । दुबै एकछिनको लागि केही बोलेन । मौनतालाई तोर्दै सन्ध्याले भनिन्, “बस, म चिया पकाउँछु ।” सन्ध्याले आफ्ना अनुभवी हात चलाउँदै, ग्यासमा चिया बसालिन् । चिया उम्लियो । गिलासमा चिया खन्याएर टेबुलमा राखेर बोलिन्, “चिया टेबुलमा छ, खानुहोला ।”
कुनै आवाज आएन । सन्ध्याले टेबुलको चिया छामिन् । गिलासमा चिया जस्ताको तस्तै रहेको थियो । टेबुलमा एउटा ब्रेल पत्र छोडेर गएको रहेछ । उनले बेलपेपरमा औंँला चलाउँदै पढन थाल्यो । लेखिएको थियो–
प्रिय सन्ध्या,
खुसी लाग्यो, म भन्दा तिमी धेरै खुसी रहेछौ जीवनमा । एउटै बगैँचामा फुलेका फूल हामी, म चितामा लाससँगै मरेँ, तिमी भगवानको चरणमा फुल्यौ । एउटै काठको भाग्य लिएर आएका हामी, आज तिमी मन्दिरको टुँडाल भयो, म चितामा सल्किएँ । आजभोलि म आँखाको उज्यालो लिएर यो शहरमा अलपत्र हिँड्दै छु । तिमी आँखा बिना पनि गन्तव्यतिर बढदै छौ, मुस्कुराएर । सन्ध्या मलाई माफ गर, तिमी मेरो जीवनको उज्यालोमा झरेको फूल हौ, जस्तो पारिजातको फूल बिहानीको घाम नपर्दैै झर्छ । यदि फेरि पुर्नजन्म पाएँ भने म अन्धो नै भएर जन्मिन चाहान्छु ताकि फेरि तिमीलाई हृदयबाट प्रेम गर्न सकुँ र त्यो पटक कहिलेलाई नछोडुँ । पुर्नजन्म धेरै परको कुरा भयो । यो जुनिमा पनि हाम्रो मिलन सम्भव छ । तिमी मेरो जीवनमा फर्केर आउँछौ भने म फेरि स्टिक समात्न तयार छु सन्ध्या । तिम्रो मर्जी, तिमी के गर्छौ भन् । म तिम्रो उतरको पर्खाइमा छु ।
तिम्रो अरबिन
पत्र पढेर सन्ध्या अवाक भइन् । उसले सोचेको पनि थिएन, यो मोडमा आएर फेरि उनको विगतले आगतलाई चिथोर्छ भनेर । बाहिरबाट पतिको कोठामा स्टिकको टकटकसँगै आगमन भयो । पतिले सन्ध्यालाई मौन पाएर सोध्यो, “के भयो सन्ध्या, तिमी किन चुप लागेकी ? आज मलाई चिया खानुहुन्छ कि भनेर पनि सोधेनौ ।”
श्रीमानले उनको गालामा औँला सुम्सुम्यायो, चिसो पाएर सोध्यो,
“तिमी रोएकी सन्ध्या ?”
कुनै जवाफ आएन
“यो पापी आँसुलाई म यसरी पिइदिन्छु” श्रीमानले उनको गालामा एक चुम्मा गर्यो । सन्ध्या रोएको बेलामा श्रीमानले उनलाई यसरी नै खुसी दिने कोसिस गथ्र्यो । श्रीमानले त्यही कुरुप गालामा चुमेको थियो, जुन गालालाई जलेको देखेर अरबिनले सँधैको लागि छोडेर गएको थियो ।
सन्ध्याले श्रीमानको हात छुँदै भनिन् “आज तपाईलाई मेरो बारेमा एउटा रहस्य भन्छु । वचन दिनुस्, मलाई यसपछिको दिनमा घृणा गर्नुहुन्न ।”
“भन्नु न”
“तपाईलाई थाहा छैन होला, भर्खर तपाईले चुम्नु भएको गाला मेरो पुरै आगोले जलेको छ ।” सन्ध्याको मन श्रीमानको सम्भावित प्रतिक्रियालाई लिएर ढुकढुक भयो ।
श्रीमान हाँस्यो ठूलो ठूलो स्वरमा र भन्यो, “अनि… के भो त ? तिमीलाई पनि थाहा नहोला, मेरो अनुहार पनि त आगोले जलेकै हो नि । के तिमीले मलाई कहिले घृणा गरेकी छयौ ?”
उनले मायालु दुष्टिविहीन आँखा उचालेर श्रीमानलाइ पुलुक्क हेरिन् । त्यसपछि उनीहरुले एकअर्काको अनुहार सुम्सुम्याए । सन्ध्याले अरबिनको ब्रेल कागज मुठीमा कसिन् । आँसु झार्दै थिइन् ।
उनको श्रीमानले फेरि सोध्यो “ फेरि के भयो सन्ध्या ? तिम्रो हातमा के हो ?”
सन्ध्याले केही नभनी चुपचाप ब्रेल पत्र पतिलाई थम्याइन् ।
श्रीमानले ब्रेल पेपरमा औँला चलाउँदै पढयो । पत्र पढे पछि पत्र, सन्ध्याको हातमा फर्काउदै बोल्यो, “लेऊ, यस्को हकदार तिमी नै हो । तिमी जे मन लाग्छ गर, यसलाई सजाऊ, जतन गर, तिम्रो डायरीमा घुसार या पहिलो प्रेमप्रति अझै मोह छ भने त्यो प्रेमलाई फेरि स्वीकार्न पनि सक्छौ । तिम्रो विगत तिम्रै हो, त्यस्को दाबी गर्ने म को हो ? तिम्रो विगतको प्रेममा मेरो कुनै ईश्र्या छैन । अरुले जसरी हेरोस् तिमीलाई, तिमी मेरो नजरमा सृष्टिकै सुन्दर रचना हौ । तिमी मेरो पत्नी हौ । तिम्रो खुसी मेरो जीवनको पहिलो प्राथमिकता हो । जीवनमा आँखाले हेरेर होइन, मनले देखेर माया गर्नुपर्छ ।” पतिको पवित्र प्रतिक्रियाले सन्ध्याको आँखा आँसुले टिलपिल भए । उनलाई लाग्यो, कति महान रहेछन् आफ्नो श्रीमान, कति सजिलै उनको पहिलो प्रेम र कुरुप अनुहारलाई अभिनन्दन गर्यो । जलेको रुपमा शान्त्वना छर्न आफ्नो रुप पनि जलेको अभिनय गराइदियो ।
सन्ध्याको आगमन भएकोले आकासमा हतार हतार आज चन्द्रमाको आगमन भइसकेको थियो, ब्रेल कागजमा अझै प्रेमको बिन्दु टिलपिल गरिरहेको थियो, प्रतिक्रियाको याचना गर्दै । उनले हातले ती ब्रेलपत्र टुक्रा टुक्रा बनाएर टेबलमै छरिन्, जुन श्रीमानले चाल पाएन । श्रीमानले बोल्यो, “लु साँझ पर्यो, दुईचार गीत त चोकमा बसेर गाउन भ्याउला नि, ल हिँडौँ, मैले स्पिकर समातेँ ।” श्रीमानले स्पिकर उचालेर काँधमा राख्यो । सन्ध्याले भर्खरै प्रेमपत्रको हत्या गरेको हातले श्रीमानको हात समातिन् । उनीहरु दुबै जना हात समातेर घर बाहिर निस्के । टेबलमा टुक्रा टुक्रा भै छरिएका ब्रेलपेपर साक्षी रहयो– एक अधुरो प्रेम र एक सार्थक जीवनको ।