माओवादी केन्द्रले पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने
काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । माओवादीले सम्पत्ति छानबिन आयोग गठन गरि पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डले घोषणा गरेका छन् ।
उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्नेमा समेत जोडदिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्न ९० प्रतिशत केन्द्रीय सदस्यले प्रचण्डको विकल्प प्रचण्डनै भएको धारणा राखेका छन् ।
संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो ।
बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिए ।
बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
यसैबीच माओवादी केन्द्रका नेताहरूले रुपान्तरणको विकल्प नभएको बताएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न केन्द्रीय समिति बैठकमा उपस्थित अधिकांश केन्द्रीय सदस्यले यथास्थितिमा पार्टी नचल्ने भन्दै रुपान्तरणको विकल्प नभएको बताएका हुन् ।