बालेन शाहलाई पक्राउ गर्न माग
काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहलाई पक्राउ गर्न एमालेका युवा नेता गुरुप्रसाद भट्टराईले माग गरेका छन् । जेन जी विद्रोहका क्रममा बालेनकै कारणकै ५६ जनाको मृत्यु भएको दावि गर्दै पक्राउ गरेर जेल हाल्न भट्टराईले माग गरेका हुन् ।
‘भदौ २३ गते १९ जना मरे…सरकारले मार्यो, प्रहरीले मार्यो भन्ने बुझियो, तर मान्छे त ७५ जना मरेका छन्’, भट्टराईले भनेका छन्, ‘२४ गते बाँकी ५६ जना मार्ने रवी र बालेनहरु हुन्, यिनीहरुलाई गिरफ्तार गरेर जेल हाल्नुपर्छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री भएको बेला रेल विभागको नियुक्ति खाएका भट्टराईले फरक प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टीले घर भाडा तिर्न नसक्ने पनि बताएका छन् ।
रास्वपाको मुख्यालय रहेको घरका साहु भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गर्न सूचना पठाएको विषय सार्वजनिक भएपछि उनले लेखेका छन्, ‘पैसाको जोहो गर्ने ठग (रवि लामिछाने) जेलमा छ । कसरी तिर्नु भाडा रु अब फेरि घण्टेहरुले भाडामा पनि प्रतिशोध साँधियो भन्ने त होला !’