कुनामनको पार्टीले विद्युत्मा लगाइएको ५ प्रतिशत भ्याट हटाउन फेरी हस्ताक्षर अभियान चलाउने
काठमाडौँ – उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै गत भदौ १ गतेदेखि सुरु गरेको बृहत् हस्ताक्षर अभियान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
नागरिकको उत्साहपूर्ण सहभागिताका साथ अघि बढिरहेको उक्त अभियान भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण स्थगित गरिएको थियो । आम नागरिकको हितसँग प्रत्यक्ष जोडिएको यस अभियानलाई निरन्तरता दिन जनस्तरबाट समेत माग भइरहेको सन्दर्भमा पार्टीले अभियान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसै सन्दर्भमा, पार्टीका सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनः सुरु गर्न हार्दिक आह्वान गरिन्छ । अभियानलाई थप व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउँदै स्थानीय नागरिक, उपभोक्ता समूह तथा अन्य सरोकारवालासँग समन्वय गरी यसको उद्देश्यबारे स्पष्ट जानकारी गराउन र अधिकतम नागरिकको स्वैच्छिक सहभागिता सुनिश्चित गर्नसमेत अनुरोध गरिन्छ ।
यो अभियान औपचारिकतामा सीमित नभई नागरिकको हितसँग प्रत्यक्ष जोडिएको सार्वजनिक सरोकारको विषयलाई संगठित रूपमा उठाउने साझा पहल हो । त्यसैले, पार्टीका सबै तहका संरचनाले आवश्यक समन्वय, सक्रियता र जिम्मेवारीबोधका साथ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन हार्दिक अनुरोध गरिन्छ ।