जनताको खल्तीबाट असुलिएको रकम बिच बाटोमै गायव, राज्यको ढुकुटीमा जानुपर्ने अर्बौँ रुपैयाँ पचाउन सेटिङ

बिहिबार, १० मंसिर २०८३

काठमाडौं– नेपालमा इन्टरनेट चलाउनुहुन्छ ? महिनैपिच्छे इन्टरनेटको बिल तिर्नुहुन्छ ? त्यसो भए तपाईंले इन्टरनेट चलाएबापत मात्र पैसा तिरिरहनुभएको छैन। मर्मत–सम्भारका नाममा पनि छुट्टै रकम तिरिरहनुभएको छ।

तर अचम्मको कुरा के छ भने, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत–सम्भारमा गर्ने वास्तविक खर्च कुल आम्दानीको ४ देखि ७ प्रतिशत मात्रै हो । अर्थात्, खर्च ७ प्रतिशत पनि नहुने शीर्षकमा उपभोक्ताबाट शतप्रतिशतसम्म रकम असुली भइरहेको छ। अझ गम्भीर कुरा त के छ भने, यही शीर्षकलाई आधार बनाएर सरकारले पाउनुपर्ने दूरसञ्चार सेवा दस्तुर अर्थात् टीएससीसमेत गुमिरहेको छ ।

सरकारको ढुकुटीमा जानुपर्ने अर्बौँ रुपैयाँ इन्टरनेश सेवा प्रदायक कम्पनी र नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीको खल्तिमा गइरहेको छ । कर उठाउनुपर्ने निकाय दूरसञ्चार प्रधाकिरणले नै करको आधार कमजोर बनाउन गैरकानुनी रुपमा सेटिङ मिलाएर सूचना निकालिरहेको छ ।

मंसिर २ गते निकालिएको सार्वजनिक सूचनामा इन्टरनेट तथा इमेल सेवा प्रदायकहरूलाई आर्थिक वर्ष २०८२–८३ र चालु आर्थिक वर्षको असोज महिनासम्मको दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न भनिएको छ।

पहिलो नजरमा यो सामान्य प्रशासनिक प्रक्रिया देखिन्छ। तर सूचनासँगै मागिएको विवरणको ढाँचाले अर्बौंको चलखेल छर्लङ्ग पारेको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग मर्मत–सम्भारबापतको आम्दानीको विवरण मागेको छ। तर त्यसका लागि वास्तवमै कति खर्च भयो भन्ने विवरण मागेको छैन। अब प्रश्न उठ्छ, मर्मत–सम्भारमा भएको वास्तविक खर्च नै नहेरी त्यस शीर्षकमा कति रकम टीएससी छुट पाउने भनेर कसरी निर्धारण हुन्छ ? कानुनले छुट दिएको वास्तविक खर्चमा हो कि कम्पनीले बिलमा देखाएको आम्दानीमा ?

यहीँनेर प्रकरणका कर्मचारीको मुख्य कैफियत लुकेको छ। दूरसञ्चार ऐन, २०५३, नियमावली, २०५४ र आर्थिक ऐनहरूमा फिक्स्ड ब्रोडब्यान्ड सेवाको मर्मत–सम्भारसम्बन्धी खर्चमा निश्चित सीमाभित्र टीएससी छुटको व्यवस्था गरिएको छ। तर छुटको आधार वास्तविक खर्च हो। अब एकछिन हिसाब गरौँ। मानौँ, एउटा इन्टरनेट सेवा प्रदायकले एक वर्षमा १०० करोड रुपैयाँ आम्दानी गर्छ। उसको मर्मत–सम्भार खर्च ७ करोड रुपैयाँ मात्रै हुन्छ। तर उपभोक्ताबाट मर्मत–सम्भार शीर्षकमा ७ करोडको टिएससी दावि गर्नुपर्ने ठाउँमा इन्टरनेट कम्पनीहरुले १०० करोड रुपैयाँ बराबरकै कर रकम उठाइएर ९३ करोड आफ्नो गोजीमा भरिरहेका छन् । त्यसको केही रकम प्राधिकरणका कर्मचारीको खल्तिमा समेत पुग्ने गरेको आशंका छ ।

वास्तविक खर्च ७ करोड हुँदा १०० करोडलाई नै छुटको आधार बनाइयो भने कर लाग्नुपर्ने आधार ९३ करोड रुपैयाँले घट्न सक्छ। तर यति ठूलो सम्भावित अन्तर हुँदाहुँदै प्राधिकरणले वास्तविक खर्चको प्रमाण किन मागेन ? के यो सामान्य प्रशासनिक कमजोरी हो ? कि कसैलाई फाइदा पुग्ने गरी बनाइएको प्रक्रिया ? यही प्रश्नको घेरामा छ प्राधिकरण र यहाँका कर्मचारी ।

इन्टरनेट सेवा प्रदायकले मर्मत–सम्भारका नाममा उपभोक्ताबाट पैसा लिन्छ। तर उक्त रकममध्ये वास्तवमै कति मर्मतमा खर्च हुन्छ भन्ने पारदर्शी विवरण उपभोक्ताले पाउँदैनन्। अर्कोतर्फ, यही शीर्षकमा वास्तविक खर्चभन्दा बढी रकम देखाएर टीएससी छुट लिइएको हो भने राज्यले पनि राजस्व गुमाउँछ।

अर्थात् मार दुई ठाउँमा पर्छ। एकातिर उपभोक्ता, अर्कोतिर राज्य। जनताले इन्टरनेटको बिल तिर्ने, सरकारले कर पाउनुपर्ने, तर बीचमा कम्पनीहरूले देखाएको हिसाब नै अन्तिम सत्य बन्ने हो भने नियमनको अर्थ के ? सरकारले जनताबाट कर उठाउन सक्ने भएपनि ठूला कम्पनीको कारोबारको वास्तविकता जाँच्न नसक्नु प्राधिकरणका कर्मचारीको नियतमाथि प्रश्न उठेको छ ।

प्राधिकरणको सूचना इन्टरनेट तथा इमेल सेवा प्रदायकलाई मात्रै लक्षित छ। जबकि टीएससीसम्बन्धी कानुनी व्यवस्था समग्र दूरसञ्चार सेवासँग सम्बन्धित छ भने अन्य दूरसञ्चार सेवा प्रदायकलाई किन समेटिएन ? सबैलाई समान कानुन लागू हुने कि पहुँच र प्रभावका आधारमा फरक व्यवहार हुने ?

ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागको छानबिनबाट समेत यस विषयमा करसम्बन्धी बक्यौता र जरिवानाको प्रश्न उठेको छ। यदि विगतमा नै कर छली वा कम दाखिलासम्बन्धी कैफियत औँल्याइएको मा असुली प्रक्रिया कहाँ पुग्यो ? बक्यौता उठाउनुपर्ने निकाय किन उदासीन देखियो ?

माथिका विवरणहरु हेर्दा सूचना जारी गर्ने अधिकारी, निर्णय प्रक्रियामा संलग्न पदाधिकारी र लाभ लिएको आशंका गरिएका कम्पनीको भूमिकाको छुट्टाछुट्टै अनुसन्धान हुनुपर्छ। सरकारले यो विषयलाई सामान्य प्रशासनिक विवाद भनेर पन्छाउन मिल्दैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र राजस्व अनुसन्धानसँग सम्बन्धित निकायले तत्काल चासो दिनुपर्छ। याद राख्नुस्, यो केही इन्टरनेट कम्पनी र एउटा सरकारी कार्यालयबीचको सामान्य विवाद होइन।

यो जनताको पैसा, राज्यको राजस्व र नियामक निकायको विश्वसनीयतासँग जोडिएको विषय हो। यदि मर्मत–सम्भारमा खर्च भएको रकमभन्दा धेरै रकम छुटको आधार बनाइएको हो भने त्यो रकम कसरी वैध हुन्छ ? यदि राज्यको राजस्व गुमिरहेको छ भने त्यसको जिम्मेवारी कसले लिन्छ ?

र यदि नियामक निकायको काम नै कम्पनीहरूको कारोबारलाई पारदर्शी बनाउनु हो भने उसैले वास्तविक खर्चको प्रमाण किन माग्दैन ? सरकारले अब एउटा काम गर्नुपर्छ– प्राधिकरणको सूचनामाथि तत्काल पुनरावलोकन, कम्पनीहरूको वास्तविक खर्चको स्वतन्त्र लेखापरीक्षण र विगतको टीएससी बक्यौता तथा जरिवानाको सार्वजनिक विवरण।

जनताको पैसा कसैको सेटिङमा हराउन दिनु हुँदैन। राज्यको राजस्व कसैले आफ्नो नाफा बनाउने माध्यम बनाउन पाउँदैन। यो विषयमा दूरसञ्चार प्राधिकरण र सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूको जवाफ पनि उत्तिकै महत्त्वपूर्ण छ।