पूर्वमन्त्री पक्राउ प्रकरणमा नयाँ ट्विस्ट, पूर्वमुख्यसचिव पक्राउ परेकै दिन भेटियो हराएको फायल

बिहिबार, १० मंसिर २०८३

काठमाडौं—नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगीबारे डरलाग्दो सेटिङको रहस्यमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण र बायोमेडिकल सेवाका नाममा अतिरिक्त रकम असुलेर १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पुर्‍याएको विषयमा अनुसन्धान केन्द्रीत छ । यो सबै काम एकैपटक भएको थिएन। पटक–पटक भयो। बैंकिङ प्रणाली प्रयोग गरेर भयो। सरकारी निकायको स्वीकृति लिएर भयो।

यो प्रकरणमा दुई पूर्वश्रममन्त्री पक्राउ परिसकेका छन्। तत्कालीन दुई श्रम सचिवसहित उच्च सरकारी अधिकारीहरू प्रहरी हिरासतमा छन्। तर अनुसन्धानकै बीचमा एउटा यस्तो रहस्य बाहिर आएको छ, जसले यो प्रकरणलाई थप गम्भीर बनाएको छ। रकम विदेश लैजान स्वीकृति दिने चारवटा मन्त्रीस्तरीय निर्णयका सक्कल फाइल नै मन्त्रालयबाट गायब थिए। अनुसन्धान प्रभावित हुने गरी महत्त्वपूर्ण सरकारी कागजात नभेटिएपछि प्रहरीसमेत समस्यामा परेको थियो। तर अहिले ती फाइल मन्त्रालयबाटै प्रहरीको हातमा पुगेका छन्।

फाइल भेटिएसँगै अब यो प्रकरणमा नयाँ तथ्य खुल्ने अपेक्षा गरिएको छ। करिब १५ दिनभित्र अनुसन्धान टुंग्याउने तयारीसमेत भइरहेको प्रहरी स्रोतको भनाइ छ। अब यी फाइलमा के छ भन्ने विषयले नै यो प्रकरणको वास्तविक रहस्य खोल्न सक्छ। यो प्रकरणको सुरुवात हुन्छ मलेसिया जाने नेपाली श्रमिकमाथि लगाइएको अतिरिक्त शुल्कबाट।

नेपाल र मलेसियाबीच भएको समझदारीमा उल्लेख नभएको र दुई देशको संयुक्त कार्यदलबाट समेत पारित नभएको बायोमेडिकल सर्भिस चार्जका नाममा प्रतिकामदार १०० मलेसियन रिंगेट अतिरिक्त रकम उठाइएको थियो। स्वास्थ्य परीक्षण गर्न जाने श्रमिकले नेपाल सरकारले तोकेको शुल्कबाहेक थप रकम तिर्नुपर्थ्यो। यो रकम नेपालस्थित कैलाश खड्काको म्याक्रोटेक प्रालिमार्फत संकलन गरिएको अनुसन्धानबाट खुलेको छ।

त्यसरी संकलन गरिएको रकम मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको थियो। सीआईबीको अहिलेसम्मको अनुसन्धानअनुसार २०७६ सालदेखि ७ लाख ५० हजार ९८८ नेपाली श्रमिक स्वास्थ्य परीक्षणका नाममा ठगीमा परेका छन्। उनीहरूबाट उठाइएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्‍याइएको खुलेको छ।

यो रकम सामान्य कारोबारबाट विदेश गएको थिएन। यसका लागि नेपाल राष्ट्र बैंकमा पटक–पटक निवेदन दिइयो। राष्ट्र बैंकको स्वीकृतिपछि लक्ष्मी सनराइज बैंकमार्फत १७ पटक टेलिग्राफिक ट्रान्सफर अर्थात् टीटी गरेर रकम मलेसिया पठाइएको अनुसन्धानमा देखिएको छ।

पहिलोपटक सन् २०२० फेब्रुअरी २७ मा करिब १० करोड ४० लाख रुपैयाँ मलेसिया पठाइएको थियो। सबैभन्दा ठूलो कारोबार सन् २०२२ डिसेम्बर २६ मा भयो। त्यस दिन एकैपटक करिब २८ करोड ३० लाख रुपैयाँ विदेश पठाइएको देखिन्छ। अन्तिमपटक सन् २०२४ मे २२ मा रकम ट्रान्सफर भएको अनुसन्धानले देखाएको छ।

तर यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष रकम विदेश पठाउन भएका मन्त्रीस्तरीय निर्णय हुन्। अनुसन्धानका क्रममा चारपटक मन्त्रीस्तरीय निर्णय भएको खुलेको छ। ती निर्णय तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका थिए। रामेश्वर राय यादव २०७६ मंसिर ४ देखि २०७७ पुस १० सम्म श्रममन्त्री थिए। त्यतिबेला मन्त्रालयको सचिवको जिम्मेवारी विनोद केसीले सम्हालेका थिए।

त्यस्तै, शेरबहादुर कुँवर २०७९ असार १३ देखि पुस ११ सम्म श्रममन्त्री थिए। उनको कार्यकालमा पूर्वमुख्यसचिवसमेत रहेका एकनारायण अर्याल श्रमसचिव थिए। यी दुवै पूर्वमन्त्री अहिले प्रहरी हिरासतमा छन्। तत्कालीन सचिव विनोद केसी र एकनारायण अर्याल पनि प्रहरी हिरासतमै छन् । तर चारवटा मन्त्रीस्तरीय निर्णय भएको देखिए पनि रकम भने १७ पटक विदेश गएको अनुसन्धानले देखाएको छ।

यहीँनेर अनुसन्धानको अर्को महत्त्वपूर्ण पाटो जोडिन्छ। रकम विदेश पठाउन मलेसियाली दूतावासबाट आएको भनिएको एउटा पत्र। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले कूटनीतिक प्रोटोकलभन्दा बाहिर गएर नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। त्यही पत्रका आधारमा रकम विदेश लैजान स्वीकृति दिइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

तर उक्त पत्रको आधिकारिकता नै यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ। सरकारी निकायलाई गलत विवरण दिएर विदेशी मुद्रा विदेश पठाइएको हो कि होइन भन्ने विषय पनि अनुसन्धानकै क्रममा छ। यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ प्रहरी हिरासतमा छन्।

त्यस्तै, म्याक्रोटेकका सञ्चालक कैलाश खड्कासहित अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। तर अब यो अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण मानिएका सरकारी फाइल प्रहरीको हातमा पुगेका छन्।

ती फाइलमा मन्त्रीस्तरीय निर्णयको वास्तविक व्यहोरा, रकम विदेश पठाउन दिइएको स्वीकृतिको आधार, निर्णय प्रक्रियामा संलग्न अधिकारीहरूको भूमिका र त्यससँग सम्बन्धित प्रशासनिक कागजात रहेको अपेक्षा गरिएको छ। यसअघि फाइल नभेटिँदा अनुसन्धानमा कठिनाइ भएको थियो। अहिले मन्त्रालयका कर्मचारीबाटै ती कागजात प्रहरीलाई उपलब्ध गराइएको बताइएको छ।

यसले अनुसन्धानलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। फाइल अध्ययन र बयानका आधारमा निर्णय प्रक्रियामा को–को संलग्न थिए, कसको सिफारिसमा निर्णय भयो र त्यसको कार्यान्वयन कसरी भयो भन्ने विषय थप स्पष्ट हुन सक्छ। एउटा कुरा भने निश्चित छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पसिनाबाट उठाइएको रकम विदेश पुगेको छ। त्यसमा राज्यका निकायको निर्णय र स्वीकृति प्रयोग भएको देखिएको छ। अब अनुसन्धानले ती निर्णयको वास्तविक जिम्मेवारी कसको थियो भन्ने स्थापित गर्नुपर्नेछ।

सरकारी फाइल हराउनु, अनुसन्धानका क्रममा नभेटिनु र अहिले अचानक प्रहरीको हातमा पुग्नु आफैँमा गम्भीर विषय हो। ती फाइल कहाँ थिए, किन उपलब्ध गराइएनन् र कसको जिम्मेवारीमा थिए भन्ने विषयको समेत छानबिन हुनुपर्ने आवाज उठेको छ । किनभने यो केवल १ अर्ब ६९ करोड रुपैयाँको विषय होइन। यो विदेशमा रोजगारी खोज्न बाध्य नेपाली श्रमिकको अधिकार, राज्यको प्रशासनिक जवाफदेहिता र सार्वजनिक पदमा बसेकाहरूको जिम्मेवारीसँग जोडिएको प्रकरण हो।

अब प्रहरीको हातमा पुगेका फाइलले यो प्रकरणका बाँकी पर्दा खोल्छन् कि खोल्दैनन्, त्यो अनुसन्धानको नतिजाले देखाउनेछ। मलेसिया जाने श्रमिकको नाममा उठाइएको रकमदेखि मन्त्रीस्तरीय निर्णय, राष्ट्र बैंकको स्वीकृति र मन्त्रालयबाट गायब भएका फाइलसम्म जोडिएको यो प्रकरणको अन्तिम सत्य बाहिर आउनैपर्छ। दोषी जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्छ।