गर्भपतन गराउन संलग्न गाउँपालिका अध्यक्षसहित फरार अभियुक्त खोज्दै प्रहरी
काठमाडौँ -भ्रुण हत्यासम्बन्धी कसूरमा जाहेरी दर्तापछि पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना फरार अभियुक्तको खोजीमा प्रहरी जुटेको छ।२१ हप्ताको गर्भपतन गराउन दबाब दिएको भन्दै सोही गाउँपालिकाकी १९ वर्षीया एक युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू फरार भएका हुन्।फरार भएका अध्यक्षसहित सोही गाउँपालिकाको वडा नम्बर–५, स्याबरुम्बाका रमेश खड्काको परिवारका सदस्यलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ‘फरार अभियुक्तलाई खोजिरहेका छौं’ भनेका छन्।पीडित युवतीले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर अध्यक्षसहित सात जनाविरुद्ध भ्रुण हत्यासम्बन्धि कसूरमा किटानी जाहेरी दिएकी थिइन्।
जाहेरीका आधार प्रहरीले तीन जना स्वास्थ्यकर्मीलाई भने बिहीबार नै नियन्त्रणमा लिएको छ। उनीहरूलाई गर्भपतन गराउन संलग्न भएको अभियोग लागेको छ।