रिलिफ सोसाईटीले गरे ४७ जनाको निःशुल्क शल्यक्रिया

आइतबार, २६ माघ २०७६

वीरगन्ज– वृजलाल राधादेवी लाठ ट्रष्ट र रुंगटा वेलफेयर सोसाईटीको सहयोग तथा रिलिफ सोसाईटी अफ कमर्सको संयोजनमा वीरगन्जमा ४७ जनाको निःशुल्क कानको अपरेशन गरिएको छ । बाराको परवानीपुर गाउँपालिका ५ बहुवरीमा इम्प्याक्ट नेपालद्वारा संचालित कान अस्पतालमा निःशुल्क कान अप्रेशन शिविर सम्पन्न भएको हो ।

माघ १९ गतेबाट सुरु भएको शिविरमा एक सय १२ जनाले चेकजाँच गराएका थिए । शिविरमा ग्राण्डी अस्पतालका प्राध्यापक डाक्टर बिमल कुमार (बिके) सिन्हा, सुष्मा भट्टचनलगायतका चिकित्सकको टोलीले कानको निःशुल्क शल्यक्रिया गरेको रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष अशोक लाठले बताए । प्रारम्भिक परिक्षणपछि २३ महिला र २४ पुरुषको कानको शल्यक्रिया गरेको हो ।

परिक्षण गरिएका मध्ये चारजनालाई भने विभिन्न अन्य समस्या देखिएकाले शल्यक्रिया नगरिएको डाक्टर सिन्हाले बताए । वीरगन्जका औद्योगीका परिवारहरुले स्थापना गरेको सेवा ट्रष्टले वीरगन्जमा प्रदेशकै पहिलो कान अस्पताल स्थापना गरेर निःशुल्क सेवा दिइएको छ ।

कान अस्पताल स्थापनाका लागि पहल गर्ने वृजलाल राधादेवी लाठ ट्रष्ट र रिलिफ सोसाईटी अफ कमर्सलाई रुंगटा वेलफेयर सोसाइटीले पनि साथ दिएर जग्गा दान गरेपछि कान अस्पताल स्थापना गर्न सफल भएको ट्रष्टका अध्यक्ष अशोक लाठले बताए ।

औद्योगिक तथा आर्थिक नगरी वीरगन्जमै नाक, कान, घाँटीको विशेषज्ञ चिकित्सक सहितको सेवा शुरु भएपछि बारा, पर्सा, रौतहट, मकवानपुर तथा छिमेकी भारतका सीमाक्षेत्रका कान बिरामीहरुले पनि फाईदा लिन सक्ने रुंगटा वेलफेयर सोसाईटीका नारायण रुंगटाले बताए ।

विगत २५ वर्षदेखि कानको निःशुल्क उपचार गर्दै आएको रिलिफ सोसाईटी अफ कमर्सले अहिले इम्प्याक्ट नेपालको सहयोगमा अस्पताल निर्माण गरेपछि भने अस्पतालमै कानका बिरामीहरुलाई परिक्षण र उपचार गर्दै आएको रिलिफ सोसाईटीका अध्यक्ष लाठले बताए ।