मन्दिरबाट मूर्ति, मुकुट र गहना चोर्ने पक्राउ
काठमाडौँ- मोरङको पुरानो सदरमुकाम रंगेली–७ मा रहेको संसारीमाई मन्दिरबाट मूर्ति, चाँदीको मुकुट, छत्र, त्रिशूल, सिक्रीलगायत वस्तु चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।रंगेली–३ का भुवन पराजुलीलाई मन्दिरमा चोरी गरेका सामग्री सहित पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको छ । चोरिएका मूर्ति र चाँदीका वस्तुको जम्मा मूल्य रु ११ लाख ३५ हजार बराबर भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
चोरीमा संलग्न पराजुलीले प्रयोग गरेको मोटरसाइकलको नम्बर सीसीटीभी क्यामेरामा रेकर्ड भएपछि उनलाई पक्राउ गर्न सजिलो भएको प्रहरीको भनाइ छ । २२ माघ राति १०ः५४ बजे मन्दिरको बार नाघेर पराजुली भित्र छिरेको क्यामेरामा रेकर्ड भएको थियो । टोपी, मास्क र चस्मा लगाएकाले व्यक्तिको पहिचान हुन नसके पनि बाहिरको क्यामेराले राति गएको ज१२प ५४६८ नम्बरको मोटरसाइकल कैद गरेको थियो ।
२३ माघ बिहान मन्दिर संचालक समितिले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा पराजुलीको घरमा सो मोटरसाइकल फेला परेपछि गणेश र देवीका मूर्ति बक्स पलङभित्र लुकाएको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहालले बताए ।