१० प्रतिशत फिर्ता हुने योजना कार्यान्वयनमा

मंगलबार, २८ माघ २०७६

काठमाडौं – कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो ।

उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले यस वर्षको बजेटमार्फत गरेको थियो । पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिए पनि केही ढिलोगरी आजबाट सुरु भएको हो ।

कार्यक्रम शुभारम्भ भएसँगै अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् ।

यस्तो प्रणालीमा सुधार गरेका बिक्रेताहरुबाट एक पटकममा एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु जा सेवाको खरिद गरी विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा समेत सुधार हुने आन्तरिक राजश्व विभागको भनाई छ ।

सरकारले विद्युतीय माध्यमबाट भुक्तानीका लागि जनतालाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसैअनुसार चालु आर्थिक वर्षको बजेटमा कार्डबाट भुक्तानी गरे १० प्रतिशत कर उपभोक्तालाई फिर्ता हुने घोषणा गरिएको थियो । तर ७ महिना नाघिसक्दा पनि यो घोषणा कार्यान्वयनमा आउन सकेको थिएन ।