प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौँ लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ।बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको निमित्त महासचवि गोपालनाथ योगीले जानकारी दिएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको हो।
आजको बैठमा विभिन्न विधेयक र प्रतिवेदन प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ।बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ।यस्तै कानु न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण दोस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र कारागार विधेयक २०७६ पेश गर्नेछन्। त्यस्तै, बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।
