रुसको अनौठो निर्णयले अमेरिका तनावमा, अव के हुन्छ ?
काठमाडौं – आफ्नो भूउपग्रह (स्याटेलाइट) लाई रसियाली भूउपग्रहले पछ्याएपछि अमेरिकालाई तनाव भएको छ।
रसियाली भूउपग्रहले ‘अस्वाभाविक र अस्थिर संकेत’ देखाउँदै अन्तरिक्षमा अमेरिकी भूउपग्रहलाई पछ्याएको अमेरिकी स्पेस फोर्सका कमान्डरले बताएका छन्। ‘स्पेस फोर्स’अन्तरिक्ष सुरक्षाका लागि खटाइएको नयाँ ‘फोर्स’ हो।
‘गत नोभेम्बरमा रसियाली सरकारले भूउपग्रह प्रक्षेपण गरेको थियो, त्यसलगत्तै उसले दोस्रो भूउपग्रह पनि छाड्यो,’ अमेरिकी स्पेस कमान्डका कमान्डर तथा स्पेस फोर्सका अपरेसन प्रमुख जनरल जोन रेमन्डले भने।
उनका अनुसार रसियाले छाडेका भूउपग्रहले नजिकैबाट अमेरिकी भूउपग्रहलाई पछ्याइरहेका छन्, जुन रसियाले सन् २०१७ मा ‘इन्सपेक्टर स्याटेलाइट’ का रूपमा अन्तरिक्षमा छाडेको थियो।
अन्तरिक्षमा रसियाको यस्तो गतिविधिप्रति अमेरिकाले नजिकैबाट चासो राख्दै आएको रेमन्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले यस्ता संदिग्ध गतिविधि बढ्न थालेपछि अन्तरिक्ष सुरक्षाका लागि नयाँ मिलिटरी डफ्फा परिचालन गरेको हो। सन् १९४७ डिसेम्बरदेखि अमेरिकाले अन्तरिक्ष रक्षाका लागि सेना राख्दै आएको थियो। स्पेस फोर्सका लागि १८ बिलियन छुट्याउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रक्षा मन्त्रालयलाई आग्रह गरिसकेका छन्। गत डिसेम्बरमा रसियालाई छाडेको नयाँ स्याटेलाइटको गतिविधिसमेत शंकास्पद रहेको आरोप अमेरिकी अधिकारीले लगाउँदै आएका छन्।
रसियालाी सरकारले भने घरेलु भूउपग्रहको प्राविधिक पक्षबारे जाँचबुझ गर्न भूउपग्रहलाई अर्बिटमा छाडिएको तर्क गर्दै आएको छ। तर, अमेरिकी स्पेस कमान्डका कमान्डर रेमन्डले भने रसियाको पछिल्ला गतिविधिले अन्तरिक्षलाई समेत ‘युद्धस्थल’ का रूपमा परिणत गर्दै लगेकाले यसो नगर्न रसियासँग आग्रह गरेका छन्।
‘रसियाको भूउपग्रहले अस्वाभाविक व्यवहार देखाएको छ, यसको उद्देश्य अमेरिकी भूउपग्रहलाई ‘डिस्टर्ब’ गर्नु रहेको छ। यो स्पेस उपयोग गर्दै आएको एउटा जिम्मेवार मुलुकले गर्ने कार्य हुँदै होइन,’ रेमन्डले भनेका छन्। रसियाली भूउपग्रहले ‘हतियार’जस्तो व्यवहार देखाएकाले यो संयुक्त राष्ट्रसंघीय हतियार निशस्त्र अभियानविरुद्ध रहेको उनको भनाइ छ।