बारम्बार घरमा आउजाउ गर्नेहरूसँग सोधपुछ :पूर्वसचिव पत्नी हत्या
काठमाडौँ पूर्वसचिव अर्जुन कार्की पत्नी मुनाको हत्या प्रकरणमा प्रहरीले घरमा बारम्बार आउजाउ गर्ने व्यक्तिमाथि सोधपुछ थालेकोे छ। हत्याका कारण पत्ता लगाउन सोधपुछ थालिएको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने, ‘घरमा बारम्बार आउजाउ गर्ने व्यक्तिलाई सोधपुछ सुरु गरेका छौंं, सचिवज्यू (अर्जुन कार्की) चाहिँ शोकमा हुनुहुन्छ, उहाँसँग सोधपुछ गर्ने अवस्था छैन।’
प्रारम्भिक अनुसन्धानमा प्रहरीले कार्कीकै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका विजय चौधरीलाई नै अभियुक्त करार गरेको छ। तर, चौधरीले किन हत्या गरे भन्ने कारण खुलेको छैन।
प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिसकेको छ। मृतक मुनाको शवको पोस्टमार्टम सकिए पनि रिपोर्ट आउन बाँकी छ।वरिष्ठ प्रहरी उपरीक्षक राईका अनुसार शवको अवस्थाको मुचुल्का, घटनाको प्राविधिक पक्ष र घटनाको सम्भाव्यता हेरेर मात्र यसबारे निष्कर्ष निकाल्न सकिनेछ।
प्रहरीले मृतक विजयको परिवारलाई पनि झिकाएको छ। उनका बुबा बिहानै दाङदेखि काठमाडौंका लागि हिँडिसकेका छन्।
सोमबार पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित निवासमा पत्नी मुना गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। उद्धार गरी उपचारका लागि ललितपुरकै स्टार अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।कामदार विजय भने त्यसबेला नै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलको प्रकृतिको आधारमा प्रहरीले विजयले मुनामाथि साङ्घातिक आक्रमण गरी उनले आत्महत्या गरेको आशंका गर्दै आएको छ।